• १२ पुस २०८१, शुक्रबार

चुनावमा एमालेले बृहत्तर परिणाम ल्याउने दाबी

blog

नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेललगायतका नेता कैलालीको अत्तरियामा आयोजित पत्रकार सम्मेलनमा । तस्बिर : प्रकाशविक्रम शाह

कैलाली समाचारदाता

धनगढी, असार २२ गते । नेकपा (एमाले)का महासचिव शङ्कर पोखरेलले मतका आधारमा स्थानीय तह निर्वाचनबाट एमाले नै ३४ प्रतिशत मत ल्याएर सबैभन्दा ठूलो पार्टी बनेको बताउनुभएको छ । प्रेस चौतारी नेपाल कैलालीले अत्तरियामा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले स्थानीय तह निर्वाचनमा चुनावी सत्तारूढ दलको गठबन्धनबाट नेपाली कांग्रेसले मात्रै फाइदा लिएको बताउनुभयो । उहाँले भन्नुभयो, “कांग्रेसले ३३ प्रतिशत मत पायो, अघिल्लो चुनावमा १७ प्रतिशत मत पाएको माओवादीले १३ प्रतिशत मात्रै पायो, नेकपा (एकीकृत समाजवादी)ले चार प्रतिशत मत पाएको छ ।”

माधव नेपाल र झलनाथ खनालका कारण एमाले कमजोर हुन्छ भन्ने मनोविज्ञान स्थानीय चुनावबाट अन्त्य भएको बताउँदै महासचिव पोखरेलले आगामी चुनावमा एमालेले बृहत्तर परिणाम ल्याउने दाबी पनि गर्नुभयो । उहाँले स्थानीय चुनावमै घेराबन्दी गरेर एमालेलाई हराउन खोजिए पनि नसकेको बताउनुभयो । चुनावमा वाम एकताको सम्भावना छ ? भन्ने जिज्ञासामा महासचिव पोखरेलले नेपालमा एमाले मात्र वामपन्थी रहेको बताउँदै बुर्जुवा पार्टी कांग्रेसको पछाडि लाग्नेहरू वामपन्थी हुन नसक्ने बताउँदै स्थानीय आवश्यकताका आधारमा कतै तालमेल हुन सक्छ तर राष्ट्रिय तहमा चुनावी गठबन्धन कसैसित हुँदैन भन्नुभयो । 

नेकपा विभाजनमा एमाले र ओली होइन, माधव र प्रचण्ड जिम्मेवार रहेको चर्चा गर्दे महासचिव पोखरेलले एमालेसँग चुनावी तालमेल गर्न कांग्रेससँगको सम्बन्ध विच्छेद गरेर आउनुपर्ने सङ्केत गर्नुभयो । उहाँले सङ्घ र प्रदेशको चुनाव संवैधानिक बाध्यता भएको बताउँदै समयमै चुनाव गराउन सरकारलाई आग्रह गर्नुभयो । महासचिव पोखरेलले स्थानीय चुनाव पनि एमालेको दबाबका कारण मात्र भएको जिकिर गर्नुभयो ।