• १९ असार २०८१, बुधबार

मनसुनमा मोहनातिर छिर्छन् डल्फिन

blog

धनगढी, असार २० गते  । कैलालीमा दुर्लभ जलप्राणी डल्फिन देखिन थालेका छन् । पानीको सतह बढेपछि यहाँका सहायक नदीनालामा गङ्गेटिक प्रजातिको डल्फिन देखिन थालेको हो ।केही दिनयता जिल्लाको दक्षिण–पूर्वी तटीय क्षेत्रस्थित नदीनालामा डल्फिन देखा परिरहेका स्थानीयवासीले जनाएका छन् । संरक्षणकर्मी बैदीका भोजराज ढुङ्गानाका अनुसार टीकापुर नगरपालिका–७ को बैदीस्थित मोहना, पथरैया, काँढा नदी र गैरी नालाको दोभानमा डल्फिन देखा परेका छन् । अहिलेसम्म तीन बच्चा र आठ वयस्कसहित ११ डल्फिन देखा परेको ढुङ्गानाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मोहना–पथरैया, काँढा–पथरैया र पथरैया–गैरी खोलाको दोभानमा राम्रोसँग डल्फिन देखिँदैछन् ।”

डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्षसमेत रहनुभएका ढुङ्गानाका अनुसार यस वर्ष बैदीमा असार १५ गते साँझ डल्फिन आइपुगेका हुन् । गत वर्ष यहाँ चाँडै मनसुन आएपछि असार १ गते डल्फिन आइपुगेका थिए । यो वर्ष ढिलो गरी मनसुन पुगेपछि दुई हप्ता ढिला गरेर डल्फिन कर्णाली नदीका सहायक नदीमा आइपुगेका ढुङ्गानाले बताउनुभयो । 

अब मनसुन अवधिभरि यी नदीमा डल्फिन अवलोकन गर्न सकिनेछ । मनसुन सकिएपछि डल्फिन पनि गहिराइ खोज्दै कर्णाली नदीको तल्लो तटीय क्षेत्रतर्फ लाग्ने गर्दछन् । कर्णालीमा बाह्रै महिना बसोबास गर्ने डल्फिन सहायक नदीमा मनसुनमा मात्रै अस्थायी रूपमा आउने गर्दछन् । नदीनालामा बाढी आएपछि कर्णाली, भारतको घाघरा नदीबाट यहाँ डल्फिन आइपुग्ने गरेको जनाइएको छ । 

खास गरेर उपयुक्त आहाराको खोजी र बच्चा हुर्काउनका लागि कर्णालीका सहायक नदीमा डल्फिन आउने गरेको ढुङ्गानाको बुझाइ छ । उहाँले हरेक वर्ष बच्चासहित डल्फिन आउने गरेको जानकारी दिनुभयो । बच्चा हुर्काउन आएको बेला भजनी नगरपालिका–८, ३ र टीकापुर नगरपालिका–७ मा पर्ने नदीनालामा राम्रोसँग यी जलप्राणीको अवलोकन गर्न सकिन्छ ।

नदीनालामा डल्फिन आइपुगेपछि स्थानीयवासीमा उत्साह बढेको छ । डल्फिन देखिने क्षेत्र बाढी र डुबान प्रभावित क्षेत्र रहे पनि पानी बढेपछि डल्फिन पनि आउने गरेकाले जनसमुदाय खुसी भएको ढुङ्गानाले बताउनुभयो । 

कैलालीका नदीमा धेरै पहिलेबाट मनसुनमा डल्फिन देखिने गरेको स्थानीयले बताउने गरे पनि यसको व्यवस्थित तरिकाले संरक्षण गर्ने कार्य भने २०५६ सालबाट सुरु भएको थियो । त्यसको अगुवाइ ज्येष्ठ संरक्षणकर्मी भोजराज श्रेष्ठ ‘गुलेली बाजे’ले गर्नुभएको थियो । हाल सङ्घीय, प्रदेश र स्थानीय सरकारले पनि संरक्षणमा हातेमालो गरिरहेको संरक्षणकर्मी विजयराज श्रेष्ठको भनाइ छ । पहिले भने विशुद्ध रूपमा समुदाय मात्रै संरक्षणमा सक्रिय रहेको थियो । 

डल्फिन संरक्षणकै लागि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले डल्फिन संरक्षण कार्ययोजना पनि दुई वर्ष पहिले नै बनाइसकेको संरक्षणकर्मी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अहिले संरक्षणमा सरोकारवालाको भूमिका सकारात्मक देखिएको छ । टीकापुर, भजनी नगरपालिकासहित प्रदेश, सङ्घीय सरकारले पनि सहयोग गरिरहेका छन् । 

श्रेष्ठका अनुसार कैलालीमा सबैभन्दा बढी १३० वटा डल्फिन गणना भएको तथ्याङ्क छ । २०५९ को भदौमा १४ घाटबाट गणना गर्दा सो सङ्ख्यामा डल्फिन फेला परेका थिए । पछिल्ला दिन डल्फिनको सङ्ख्या त्यति धेरै पुगेको छैन । 

स्वच्छ पानीमा आहारविहार गर्न रुचाउने गङ्गेटिक प्रजातिको डल्फिनका लागि मुख्य चुनौती नै प्रदूषण रहेको छ । पानी प्रदूषित भएमा डल्फिनलाई समस्या हुने गरेको समुदायस्तरमा बुझाइ छ । यसैगरी डल्फिनको आहारा प्रजातिको कमी भएमा पनि डल्फिन कम हुने गरेको श्रेष्ठले बताउनुभयो । त्यस्तै नदी किनारमा बनाइने भौतिक संरचनाहरू ड्याम, तटबन्धले पनि डल्फिनलाई हानि नोक्सान गर्ने गरेको बताइएको छ । डल्फिन संरक्षणका लागि सबैभन्दा पहिले पानीलाई प्रदूषित हुनबाट जोगाउन आवश्यक रहेको उहाँले उल्लेख गर्नुभयो ।