• १३ साउन २०८१, आइतबार

‘एक घर, एक बाँदर’ पाल्ने योजना

blog

चरीकोट, असार २० गते । दोलखाको कालिञ्चोक गाउँपालिकाले एक घर, एक बाँदर पाल्ने कार्यक्रम ल्याउन लागेको छ । गाउँपालिकाले बाँदर नियन्त्रणका लागि आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको यो कार्यक्रम पारित भइसकेको गाउँपालिकाका अध्यक्ष अर्जुनप्रसाद सिवाकोटीले जानकारी दिनुभयो । 

उहाँका अनुसार बाँदर धपाउने यन्त्रलगायतले काम नगरेपछि यो कार्यक्रम ल्याइएको हो । मार्न नपाइने, अरू विकल्प नै छैन । पारित नीति तथा कार्यक्रम कार्यान्वयका लागि सम्बन्धित सबै पक्षसँग छलफल गर्ने र विज्ञसहितको टोली ल्याएर बाँदर समात्ने अभियान चलाउने योजना रहेको छ । 

बाँदर आतङ्कका कारण गाउँबाटै विस्थापित हुने अवस्थामा पुगेका किसानलाई बाँदर पाल्न उत्प्रेरित गर्ने नीति लिइएको हो । सिवाकोटीले भन्नुभयो, “यो अभियानमा पशु अधिकारकर्मी र अभियन्ताको समेत सहयोगको अपेक्षा राखिएको छ । बाँदर नियन्त्रणका लागि वैकल्पिक विधि अपनाउनुपरेको हो ।” 

बर्खायाम र वनजङ्गल तथा झाडी भएका कारण बाँदर समात्न समस्या हुने भएकाले हिउँदको समयमा बाँदर समात्ने योजना बनाएको गाउँपालिकाले जनाएको छ । विज्ञले समातेको बाँदर प्रत्येक घरमा एउटा पाल्ने र मरेपछि पालकले नै फाल्नेगरी पालिकाले योजना बनाएको छ । 

बाँदर निर्मूल पार्ने अन्य कुनै उपाय नभएपछि पालिकाले बाँदर पाल्ने नीति लिएको हो । आगामी आर्थिक वर्षमा बाँदर समात्नका लागि गाउँपालिकाले पाँच लाख रुपियाँ बजेट विनियोजन गरेको उहाँले स्पष्ट पार्नुभयो । विगत केही वर्षदेखि कालिञ्चोकमा मात्रै नभएर दोलखाका अधिकांश गाउँमा बाँदरले आतङ्क सिर्जना गरेको छ । यसतर्फ सम्बन्धित निकायले खासै चासो दिएको देखिँदैन । यतिखेर स्थानीयको दैनिकी बाँदर धपाएरै बित्ने गरेको छ । 

मानो खाएर मुरी उब्जाउने असार महिनामा किसान धान, कोदो रोप्न छोडेर मकैबाली जोगाउन बिहानदेखि साँझसम्म बाँदर धपाउन व्यस्त देखिएका छन् । असारमा खेती लगाउने बेलामा बाँदरले हैरानी पारेको किसानले बताएका छन् । दिनभर बाँदरको गोठालो बस्दा पनि झुक्याएर बाँदरले मकैबाली सखाप पारेको किसानको दुःखेसो रहेको छ । बाँदरले घरमा राखेको अन्नसमेत झिकेर खाइदिने भएपछि स्थानीय चिन्तित बनेका छन् ।