तोलामा एक हजार तीन सयले घट्यो सुन
बजारमा सुनको मूल्य आज घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुन प्रतितोला रु एक हजार तीन सयले घटेको हो ।
पोखरा विमानस्थलमा मानवीय सहायता स्थल बनाइँदै
गएको कात्तिक २२ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ जहाज आएका थिए । जहाज अवतरण भइसकेपछि पनि आधा घण्टासम्म इन्जिन बन्द गर्न मिलेन । रुकुमपश्चिमका भूकम्पपीडितलाई जहाजले ल्याएको राहत निकाल्ने ठुलो क्षमताको लिफ्टर विमानस्थलमा थिएन । पछि बाहिरबाट लिफ्टर मगाएर सामान झारियो ।
बारीबाटै आलु बिक्री, किसान खुसी
औद्योगिक प्रयोजनका लागि तनहुँका कृषकले उत्पादन गरेको आलु बिक्री भएको छ । आलु फल्नुअघि नै खरिद सम्झौता भएबमोजिम आलु बिक्री भएपछि कृषक खुसी भएका छन् । उत्पादन गर्ने किसान र आलुका परिकार बनाउने कम्पनीबिच आलु खरिद गर्ने विषयमा आलु फल्नुअघि नै द्विपक्षीय सम्झौता गरिएको थियो । समुदायस्तरमा प्रशोधनयोग्य आलु प्रवर्धन कार्यक्रम अन्तर्गत किसान र कम्पनीबिच सम्झौता गरिएबमोजिम बिक्री भएको कृषि ज्ञान केन्द्र तनहुँले जनाएको छ ।
‘अर्को महिनादेखि भन्सारमा सुधार’
भन्सार बिन्दुमा हुने चुहावट रोक्न सुधारका प्रयास अघि बढाइएको अर्थमन्त्री वर्षमान पुनले बताउनुभएको छ । प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बिहीबारको बैठकमा उहाँले त्यस्तो सुधारका लागि प्रधानमन्त्रीकै निर्देशनमा गृह मन्त्रालय र अर्थ मन्त्रालयले चुहावट रोक्ने कार्ययोजना बनाएको उहाँले जानकारी दिनुभयो । “अर्को महिनादेखि नै भन्सार बिन्दुमै आँकडामा सुधार गरेको देख्नुहुन्छ,” उहाँले भन्नुभयो, “आन्तरिक राजस्व सङ्कलनका लागि कार्यालयतिर पनि हामी केही न केही परिवर्तन गर्छौं ।”
सिक्टा सिँचाइले लिफ्टिङ सिँचाइ योजना पनि सञ्चालन गर्ने
सिक्टा सिँचाइ आयोजनाले बाँकेका केही ठाउँमा लिफ्टिङ सिँचाइको योजना पनि सञ्चालन गर्ने भएको छ । सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा डिभिजनल इन्जिनियर सन्देश पौडेलले बाँकेको राप्तीसोनारी गाउँपालिका–८, बालापुर र वडा नम्बर ९ को ढकेरी तथा वडा नम्बर २ कचनापुर क्षेत्रमा परीक्षण परियोजनाका रूपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने बताउनुभयो । उहाँले लिफ्टिङ सिँचाइका लागि ढकेरी र बालापुरमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई काम सुरु हुने चरणमा रहेको र कचनापुरमा केही समयपछि ठेक्का हुने बताउनुभयो ।
एक घण्टामा श्रम स्वीकृति दिन असम्भव
श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण्टामा श्रम स्वीकृति दिन नसक्ने जनाएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी) ले शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने तयारी गरेको बताउनुभएको थियो । विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौँसहित श्रम तथा रोजगार कार्यालय पोखरा, श्रम तथा रोजगार कार्यालय बुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ ।
बचत फिर्ताको माग गर्दै संसदीय समितिमा निवेदन
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.का बचतकर्ताले रकम फिर्ताको व्यवस्था मिलाइदिन माग गर्दै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् । करिब दुई वर्षको अवधिदेखि बचतकर्ताले रकम फिर्ता पाउन नसकेको भन्दै पीडित सङ्घर्ष समितिले समितिमा निवेदन दिएको हो । समितिका तर्फबाट सभापति रामहरि खतिवडालाई बिहीबार निवेदन हस्तान्तरण भएको हो ।
नीति तथा कार्यक्रमका लागि सुझाव सङ्कलन
सरकारको नीति तथा कार्यक्रममा विभिन्न क्षेत्रका विषय समेट्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले छलफल थालेको छ ।
दुग्धजन्य पदार्थमा कर लगाउनु हुँदैन
कृषि तथा पशुपन्क्षी विकास मन्त्री ज्वालाकुमारी साहले दुग्धजन्य पदार्थमा कर लगाउनु नहुने बताउनुभएको छ।
चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री वर्षमान पुनले चालु आर्थिक वर्षको राजश्व दोब्बर बनाउन मातहतका निकायलाई निर्देशन दिनुभएको छ। बिहीबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अर्थमन्त्री पुनले सांसदले उठाएका प्रश्नको जवाफ दिँदै यस्तो बताउनुभएको हो।
दुई खर्ब १८ अर्ब ऋण थपियो
सरकारले चालु आर्थिक वर्षको आठ महिनामा (फागुनसम्म) दुई खर्ब १८ अर्ब रुपियाँ सार्वजनिक ऋण लिएको छ । आर्थिक गतिविधि सुस्ताउँदा आन्तरिक स्रोत सङ्कुचित भएपछि सरकारले पछिल्ला वर्षमा सार्वजनिक ऋण बढाउन थालेको छ । सोही अनुसार फागुनसम्म मात्रै दुई खर्ब १८ अर्ब ८६ करोड रुपियाँ ऋण प्राप्त गरिसकेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्क छ ।
आठ महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात
चालु आर्थिक वर्षको आठ महिनामा साढे दुई अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म २ अर्ब ४७ करोड १७ लाख रुपियाँको क्लिङ्कर तथा सिमेन्ट निर्यात गरेको हो । गत वर्ष सो अवधिमा १९ करोड ४१ लाख १८ हजार रुपियाँको समेन्ट र क्लिङ्कर निर्यात भएको थियो । मुलुकबाट एक खर्ब रुपियाँभन्दा बढीको कुल निर्यात भइरहेका बेला सिमेन्टको निर्यातमा उलेख्य वृद्धि भएको हो ।
‘आगामी बजेट समाजवाद उन्मुख’
अर्थमन्त्री वर्षमान पुनले आर्थिक अवस्था शिथिल भए पनि ठूलो मन्दी वा सङ्कटमा नरहेको बताउनुभएको छ । बजेटका सिद्धान्त र प्राथमिकताको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै उहाँले कोभिड–१९ पछिको आर्थिक अवस्था सकारात्मक भएर पनि अपेक्षित भने हुन नसकेको बताउनुभयो । सरकारले आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन व्यवस्था संशोधन गरेर यो पटक सिद्धान्त र प्राथमिकताको छलफल बजेट पेसको तीन महिनाअघि नै सम्पन्न गरेको हो ।
झिनो अङ्कले घट्यो नेप्से परिसूचक
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो ।
सांसदहरूको सुझावअनुसार नीति कार्यक्रम र बजेट तर्जुमा हुन्छ : अर्थमन्त्री पुन
अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकताका आधारमा सांसदहरूले दिएका सुझावअनुसार नीति तथा कार्यक्रम र बजेट तर्जुमा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।
भेनियर पातामा निकासी कर कम गर्न माग
ठुलो परिमाणमा भारतमा निकासी हुने गरेको भेनियर पातामा सरकारले प्रोत्साहन गर्नु पर्नेमा निकासी कर अत्यधिक राखेको भन्दै यसलाई घटाउन व्यवसायीले माग गरेका छन् ।
लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री वर्षमान पुनले लगानी सम्मेलनका लागि आवश्यक गृहकार्यलाई तीव्रता दिन निर्देशन दिनुभएको छ । मङ्गलबार साँझ सिंहदरबारमा बसेको तेस्रो लगानी सम्मेलन निर्देशक समितिको चौथो बैठकमा उहाँले लगानी सम्मेलनको सचिवालयलाई निर्देशन दिनुभएको हो ।
सहकारीको ‘सेफ’ नै असुरक्षित
झापामा सहकारी संस्थाहरूमा भल्ट अर्थात् सेफ नै फुटाएर चोरीका घटनाहरू बढ्न थालेका छन् । एकपछि अर्को गर्दै जिल्लाका विभिन्न ठाउँमा सेफमा राखिएका रकम चोरी हुन थालेको हो ।
वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने प्रतिबद्धता
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले वैदेशिक रोजगारी सुरक्षित, मर्यादित र व्यवस्थित बनाउने कार्यमा कसैबाट हुने असहयोगविरुद्धमा उत्रिन जस्तोसुकै मूल्य चुकाउन पछि नपर्ने बताउनुभएको छ । उहाँले भन्नुभयो, “श्रम मन्त्रालयको जिम्मेवारी सम्हालेसँगै वैदेशिक रोजगारीको बेथितिको अन्त्य गर्ने अभियानमा लागेको छु । पत्रकारको रचनात्मक सहयोगको अपेक्षा गरेको छु ।” श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा मङ्गलबार आयोजित पत्रकारसँगको छलफलमा श्रममन्त्री अर्यालले सो कुरा बताउनुभएको हो ।
डिडिसीमा डेढ अर्बको दुग्धजन्य पदार्थ मौज्दात
उपत्यकामा झन्डै डेढ अर्ब रुपियाँ बराबरको धुलो दुध र मखन मौज्दात रहेको छ । बजारमा बिक्री नहुँदा दुग्ध विकास संस्थान (डिडिसी) को काठमाडौँ दुग्ध विकास आयोजना बालाजुमा झन्डै डेढ अर्ब रुपियाँ बराबरको मखन र पाउडर दुध मौज्दात रहेको हो । उपत्यकामा सबैभन्दा ठुलो बिक्री आयोजना बालाजुमा एक अर्ब ३५ करोड पाँच लाख ४६ हजार रुपियाँको सामान मौज्दात रहेको छ । दस लाख १५ हजार ५६५ केजी धुलो दुध र सात लाख ६७ हजार १४४ केजी मखन मौज्दात रहेको आयोजनाले जनाएको छ । मखन प्रतिकेजी ९ सय रुपियाँ बिक्री मूल्य राखिएको छ ।
कपास खेतीबाट राम्रो आम्दानी
राजपुर गाउँपालिका–७ निवासी भोजराज खत्री कपास खेती गर्दै आउनुभएको छ । नाका क्षेत्रमा सिँचाइको अभावसँगै जङ्गली जनावारले अन्नबालीमा क्षति गर्ने भएपछि खत्रीले विगत सात/आठ वर्षदेखि दुई बिघाभन्दा बढी जमिनमा कपास खेती गर्दै आउनुभएको छ । अन्नबाली छोडेर कपास खेतीमा लाग्नुभएका खत्रीले राम्रो आम्दानी गर्दै आएको बताउनुहुन्छ । गाउँमा उत्पादन गरेको कपास बिक्रीमा पनि समस्या नहुने र अन्नबालीको तुलनामा आम्दानी पनि राम्रो हुने भएपछि कपास खेती गर्दै आएको बताउनुभयो । खत्रीले भन्नुभयो, “कपास खेतीबाट राम्रो आम्दानी हुन थालेपछि पूरै गाउँ नै समूह बनाएर कपास खेतीमा लागेका छौँ, अन्य कृषि बालीभन्दा कपासबाट राम्रो आम्दानी हुने गरेको छ ।”
मुद्दतीमा झन्डै दुई अर्ब लगानी गर्दै राष्ट्र बैङ्क
नेपाल राष्ट्र बैङ्कले बैङ्क तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा एक अर्ब ९१ करोडभन्दा बढी रकम लगानी गर्ने भएको छ । राष्ट्र बैङ्कले आफ्नो उपदान तथा पेन्सन कोषमा रहेको सो रकम वाणिज्य बैङ्क, विकास बैङ्क र फाइनान्स कम्पनीको मुद्दती निक्षेपमा लगानी गर्न लागेको हो । राष्ट्र बैङ्कले क वर्गका वाणिज्य बैङ्कहरूमा एक अर्ब ५२ करोड ८९ लाख, विकास बैङ्कहरूमा २८ करोड ६६ लाख र फाइनान्स कम्पनीहरूमा नौ करोड ५५ लाख रुपियाँ गरी कुल एक अर्ब ९१ करोड १० लाख रुपियाँ लगानी गर्न लागेको छ ।
आठ महिनामा एक खर्बको निर्यात
नेपालले आठ महिनामा (साउनदेखि फागुनसम्म) एक खर्ब रुपियाँ बराबरको वस्तु निर्यात गरेको छ । समग्र अन्तर्राष्ट्रिय व्यापार नै खस्किएको अवस्थामा पनि वस्तु निर्यात एक खर्ब नाघेको भन्सार विभागको तथ्याङ्कले देखाउँछ । विभागका अनुसार फागुनसम्म नेपालले एक खर्ब ६१ करोड रुपियाँको वस्तु निर्यात गरेको हो । यो गत आवको सोही महिनासम्मको तुलनामा भने करिब चार प्रतिशतले कम हो । गत फागुनसम्म नेपालले एक खर्ब चार अर्ब ४७ करोड रुपियाँको वस्तु निर्यात गरेको थियो ।
नेप्से परिसूचकमा छ दशमलव २४ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो ।