• ८ मंसिर २०८१, शनिबार

एक घण्टामा श्रम स्वीकृति दिन असम्भव

blog

काठमाडौँ, चैत ९ गते  । श्रम स्वीकृति दिने जिम्मा पाएको वैदेशिक रोजगार विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय तथा श्रम कार्यालयहरूले हालको सफ्टवेयरबाट एक घण्टामा श्रम स्वीकृति दिन नसक्ने जनाएका छन् । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल (डिपी) ले शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने तयारी गरेको बताउनुभएको थियो । 

विभाग अन्तर्गतका वैदेशिक रोजगार कार्यालय काठमाडौँसहित श्रम तथा रोजगार कार्यालय पोखरा, श्रम तथा रोजगार कार्यालय बुटवल, श्रम तथा रोजगार कार्यालय जनकपुर र श्रम तथा रोजगार कार्यालय सुर्खेत र दूतावासबाट गन्तव्य देशबाट श्रम स्वीकृति लिन सकिने व्यवस्था छ । 

विभागका अनुसार पछिल्लो समयमा औसतमा एक हजार पाँच सय जनाले श्रम स्वीकृति लिने गरेकोमा दैनिक आठ सयभन्दा बढीले वैदेशिक रोजगार कार्यालय काठमाडौँबाट लिने गरेका छन् । हाल वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) नामक सफ्टवेयरमार्फत श्रम स्वीकृति लिने व्यवस्था हुँदै आएको छ । 

वैदेशिक रोजगार कार्यालय काठमाडौँका अनुसार श्रमका लागि टोकन लिएकालाई तुरुन्तै दिने चाहना हुँदा पनि सर्भरमा बेला बेलामा आइरहने समस्याका कारण तीन दिनसम्म लाग्ने गरेको छ । सो कार्यालयका निर्देशक एवं सूचना अधिकारी कल्पना मास्केले बेला बेलामा ‘सर्भर डाउन’ हुने समस्याका कारण पछिल्लो समयमा २४ घण्टाभित्र श्रम स्वीकृति दिन सक्ने अवस्था नरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारी त एक घण्टाभित्रै श्रम दिने गरी तयारी अवस्थामा छौँ तर सर्भरले काम गर्दैन, कर्मचारीले के गर्नु ? स्टिमले काम गर्दैन त ।” 

यही मङ्गलबारदेखि बिहान ८ देखि साँझ ७ बजेसम्म तीन सिफ्टमा काम गरिरहेका छौँ तर पनि एक हजारभन्दा बढी श्रम स्वीकृति तीन दिनदेखि थुप्रिँदै आएको निर्देशक मास्केले जानकारी दिनुभयो । 

पछिल्ला दिनमा कार्यालय समयमा सर्भर असाध्यै ढिला चल्ने गरेका कारण काम थपिँदै गएको छ त्यसैले अबदेखि २४ घण्टा काम गर्ने व्यवस्थाको अनुरोध गर्दै बिहीबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा पत्र पठाएको उहाँले जानकारी दिनुभयो । सर्भर राति ‘फास्ट’ हुने भएकाले २४ घण्टा (चार सिफ्ट) मा श्रम स्वीकृति दिने व्यवस्था गरियो भने अहिलेको सफ्टवेयरबाट तीन/चार घण्टाभित्रमा श्रम दिन सकिने अवस्था आउने निर्देशक मास्केको भनाइ छ । 

श्रममन्त्री अर्यालले पाँच दिन पहिलो (आइतबार) वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस) प्रणाली आपूर्तिकर्ता, मन्त्रालयको सूचना प्रविधि शाखा र परामर्शदाता बोलाएर शुक्रबारदेखि एक घण्टाभित्र श्रम स्वीकृति दिने गरी प्रणालीको सुधार गर्न निर्देशन दिनुभएको थियो । 

वैदेशिक रोजगारीको कामकारबाहीलाई प्रविधिमैत्री बनाउन वैदेशिक रोजगार विभागले फेमिस प्रणाली प्रयोगमा ल्याएको छ तर यो प्रणालीमा आउने समस्याका कारण श्रमिकले समयमै श्रम स्वीकृति नपाउँदा थप आर्थिक भार खेप्नु परेको छ । 

यसै समस्यालाई समाधान गर्न मन्त्री अर्यालले फेमिस प्रणालीमा तत्काल सुधार गर्न निर्देशन दिनुभएको हो । मन्त्री अर्यालले संसारको कुनै पनि कुनाबाट श्रम स्वीकृतिका लागि श्रमिकले आवेदन दिँदा एक घण्टाभित्रमा श्रम स्वीकृति दिन सक्ने गरी प्रणाली सुधार गर्न निर्देशन दिनुुभएको थियो । मन्त्रालयको सूचना प्रविधि परामर्शदाताले विगत एक हप्तादेखि फेमिस प्रणालीको निगरानी गरिरहेको जनाएको छ ।