• २८ फागुन २०८२, बिहिबार

केपीएल प्रतियोगिताः उद्घाटन खेलमा युनाइटेड भिजन र कोहलपुर स्पोर्टस विजयी

blog

बिहीबार भएको पहिलो खेलमा ब्याटिङ गर्दै युनाइटेड भिजन क्रिकेट क्लबका खेलाडी ।

गजेन्द्र गुरुङ

खजुरा, फागुन २८ गते । ‘क्याम्पा’ कोहलपुर प्राइड लिग (केपीएल) राष्ट्रिय टि–२० क्रिकेट प्रतियोगिताको पहिलो दिन उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लब र कोहलपुर स्पोर्टस एकेडेमीले विजयी सुरुवात गरेका छन् । 

प्रतियोगिताको पहिलो दिनको प्रतियोगितामा युनाइटेड भिजन क्रिकेट क्लबले ब्राइटल्याण्ड स्कुल र कोहलपुर स्पोर्टस एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई हराउँदै विजयी सुरुवात गरेका हुन् ।

पहिलो उद्घाटन खेलमा युनाइटेड भिजन क्रिकेट क्लबले टस जितेर ब्राइटल्याण्ड स्कुललाई बलिङको निम्तो दिएको थियो । सुरुवाती ब्याटिङ गरेको युनाइटेड भिजन क्रिकेट क्लबले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ५५ रन बनायो । 

युनाइटेडले दिएको १ सय ५६ रनको लक्ष्य पछ्याएको ब्राइटल्याण्ड स्कुलले १६.१ ओभरमा अलआउट हुँदै १ सय १ रनमा समेटियो । योसँगै युनाइटेड २२ रनले विजयी भएको हो । युनाइटेडलाई विजयी गराउन महत्वपूर्ण ३ विकेट लिँदै सन्तोष यादव ‘प्लेयर अफ द म्याच’ घोषित भए । 

यस्तै प्रतियोगिताको दोस्रो खेल कोहलपुर स्पोर्टस एकेडेमी र हिमालयन क्रिकेट एकेडेमीबीच प्रतिस्पर्धा भएको थियो । टस जितेको कोहलपुर स्पोर्टस एकेडेमीले पहिला ब्याटिङ गर्ने निर्णय ग¥यो । 

कोहलपुर स्पोर्टस एकेडेमीले सुरुवाती ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ९७ रन बनाएको थियो । अर्जुन घर्तीले २७ बलमा ६५ रन र भीम सार्कीले ३७ बलमा ५२ रनको अर्धशतक पारीको सहयोगमा कोहलपुर स्पोर्टस एकेडेमीले हिमालयन क्रिकेट एकेडेमीलाई विसाल १ सय ९८ रनको लक्ष्य दिएको थियो । 

कोहलपुर स्पोर्टस एकेडेमीले दिएको १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको हिमालयन क्रिकेट एकेडेमीले खराब सुरुवात गर्दै ७५ रनमा अलआउट भयो । निर्धारित १६.३ ओभरमा अलआउट हुँदै ७५ रन जोडेर १ सय २२ रनको हार ब्यहोर्नु प¥यो ।

टिमका लागि कुनै पनि ब्याटरले ठूलो साझेदारी बनाउन सकेनन् । हिमालयन क्रिकेट एकेडेमीका ब्याटरहरु कोहलपुर स्पोर्टस एकेडेमीका बलरसामु निरीह बने । कोहलपुर स्पोर्टस एकेडेमीलाई विजयी बनाउन महत्वपूर्ण ४ विकेट लिएका शिद्धान्तराज शाही ‘प्लेयर अफ द म्याच’ घोषित भए ।

प्रतियोगिताका मिडिया कोअर्डिनेटर सञ्जय मण्डलले प्रथम हुने टिमले नगद चार लाख, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जानकारी दिनुभयो । त्यसैगरी द्वितीय हुने टिमलाई नगद दुई लाख तथा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने बेस्ट ब्याटर र बेस्ट बलरले क्रमशः १०-१० हजार रुपियाँ नगद प्राप्त गर्नेछन् ।

प्रतियोगिताका डाइरेक्टर विनायक गिरीले बिहीबार दिउँसो एक औपचारिक कार्यक्रमबिच नेपाल क्रिकेट सङ्घ (क्यान)का सेक्रेटरी पारस खड्काले प्रतियोगिताको उद्घाटन गर्नुभएको जानकारी दिनुभयो ।

कोहलपुर नगरपालिका वडा नम्बर ११ स्थित कोहलपुर क्रिकेट रङ्गशालामा बिहीबारदेखि सञ्चालन भएको प्रतियोगिताको संरक्षक कोहलपुर नगरपालिका रहेको छ । बाँके जिल्ला क्रिकेट सङ्घको समन्वय र कोहलपुर क्रिकेट स्पोर्टस एकेडेमी कोहलपुरको आयोजनामा प्रतियोगिता सञ्चालन भइरहेको हो । विभिन्न ६ वटा टिम समावेश रहेको प्रतियोगिता आगामी चैत २ गतेसम्म सञ्चालन हुने छ ।