• १२ साउन २०८१, शनिबार

पोखरा विमानस्थलमा मानवीय सहायता स्थल बनाइँदै

blog

फडिन्द्र अधिकारी

लेखनाथ, चैत ९ गते । गएको कात्तिक २२ गते पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा दुई चिनियाँ जहाज आएका थिए । जहाज अवतरण भइसकेपछि पनि आधा घण्टासम्म इन्जिन बन्द गर्न मिलेन । रुकुमपश्चिमका भूकम्पपीडितलाई जहाजले ल्याएको राहत निकाल्ने ठुलो क्षमताको लिफ्टर विमानस्थलमा थिएन । पछि बाहिरबाट लिफ्टर मगाएर सामान झारियो । 

विपत्का बेला आइपर्ने यस्तै अप्ठ्यारा अवस्थामा सघाउन पोखरामा मानवीय सहायता स्थल बनाइने भएको छ । पोखराको पुरानो विमानस्थल ‘पोखरा विमानस्थल’ को करिब तीन रोपनीमा बन्ने सहायता स्थल बिहीबार शिलान्यास गरिएको छ । विश्व खाद्य कार्यक्रम, नेपाल सरकार र युरोपेली सङ्घको सहकार्यमा पोखरामा यसको निर्माण गर्न लागिएको हो । 

भूकम्प, बाढीपहिरो जस्ता प्राकृतिक विपत्का बेला खोज, उद्धारसँगै आपत्कालीन राहत एवं पुनस्र्थापनाका सामग्री भण्डारण, वितरण र आपत्कालीन व्यवस्थापन टिमलाई काम गर्र्न सहज बनाउन यसको निर्माण गर्न लागिएको हो । दुई करोड २६ लाख रुपियाँ लागतमा निर्माण गर्न लागिएको सहायता स्थल चार महिनामा तयार हुने परियोजना प्रबन्धक मोती थापाले जानकारी दिनुभयो । 

“सहायता स्थलले आपत्कालीन राहत र उद्धारका सामग्री भण्डारण, प्राप्ति, पुनः प्याकेजिङ तथा विपत्पश्चात् निर्दिष्ट स्थानमा ढुवानी तथा वितरणमा सहयोग पुग्छ,” थापाले भन्नुभयो । प्रत्येक प्रदेशमा एक सहायता स्थल बनाउने नीति अनुरूप यसअघि नेपालमा ११ सहायता स्थल बनिसकेका छन् । 

पोखराको सहायता स्थलका फोकल पर्सन रतिन्द्र खत्रीले काठमाडौँ विमानस्थलको सहायता केन्द्रले काम गर्ने नसक्ने अवस्थामा पोखराको स्थलले वैकल्पिक रूपमा काम गर्न सक्ने र गण्डकी प्रदेशमा आइपर्ने विपत्मा समेत सहयोगी हुने उल्लेख गर्नुभयो । 

पोखराको सहायता स्थलको भण्डारण क्षमता सात सय मेट्रिक टन हुने छ ।  विश्व खाद्य कार्यक्रमका नेपाल प्रतिनिधि रोबर्ट कास्काले विपत्को पूर्वतयारी राम्रो हुँदा समय र जीवन बचाउन सकिने उल्लेख गर्दै प्रदेशस्तरीय सहायता केन्द्रबाट प्रकोप प्रतिकार्य छिटो र प्रभावकारी हुने अपेक्षा गर्नुभयो ।