चित्रकुमार मिजार
सिन्धुपाल्चोक, असार १६ गते । वि.स. २०३२ सालमा न्युक्लियस बीउ आलु उत्पादनका लागि स्थापना भएको आलुबाली विकास केन्द्र निगाले सिन्धुपाल्चोकले वर्षौंदेखि गुणास्तरयुक्त बीउ आलु तथा आलु बियाँ उत्पादन गरी देशभरका कृषक समुदायमा बीउ एवम् प्रविधि हस्तान्तरण गर्दै आएको छ । उक्त प्रक्रियामार्फत आलु उत्पादन तथा उत्पादकत्व बढाई पोषण तथा खाद्य सुरक्षाको सुनिश्च्यितता र गरीवी निवारणमा सो केन्द्रले टेवा पुर्याउँदै आएको छ ।
स्थानीय जात र भिविन्न देशका आलुको जात टिस्सु कल्चर प्रविधिबाट नयाँ पुस्ताका वीउ उत्पादन गर्दै आएको आलुबाली विकास केन्द्रले आलु बालीहरुको पि.बि.एस.र टि.पि.एस.तथा विभिन्न पुस्ताका बीउ उत्पादन गरी बीउ उत्पादक कृषकलाई बिक्री वितरण गर्दे आएको केन्द्र प्रमुख अरुण खनालले जानकारी दिनुभयो । आलु बालीको जातीय संरक्षण र सम्बर्धन गर्ने, आलु बालीमा समस्यामूलक परीक्षण गर्ने, बीउ आलु उत्पादक कृषकलाई प्राविधिक सेवा, बीउ आलुको गुणास्तर नियन्त्रण तथा सुपरिवेक्षण जस्ता विभिन्न सेवा दिँदै आएको उहाँले बताउनुभएको छ ।
लिसंखुपाखर गाउँपालिका–५ मुडेस्थित निगाले बजारमा अवस्थित उक्त केन्द्रले समुन्द्री सतहभन्दा २५५० मिटर उचाईमा १०८ रोपनी १३ आना आफ्नै जग्गा र १७ दशमलव ५ रोपनी भाडाको जग्गामा रोजिटा आलु, कार्डिनल, जनकदेव आलु लगायतका विभिन्न जातका आलु बालीसम्बन्धी काम गर्दै आएको छ । रोजिटा आलु मुडेको ब्राण्ड आलु भनेर नेपालभर चिनिएको छ । सो केन्द्रले स्थानीय स्तरका प्राविधिक, अगुवा कृषक, आलुमा क्षमतावृद्धि दिँदै आएको छ । उक्त केन्द्रले आफ्नो ५० औं वार्षिकोत्सव स्वर्ण जयन्ती, फार्म डे तथा प्रविधि प्रर्दशन कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सह–सचिव डा. जानुका पण्डितले स्थानीय र रैथान जातका आलुहरुको संरक्षण र सम्बर्धन गर्न मन्त्रालय लाग्ने र मातहतका कार्यालय पनि लाग्नु पर्ने धारणा राख्नुभएको थियो ।
मुडेमा उत्पादन भएका रोजिटा लगायतका स्थानीय र रेथाने आलुलाई ग्रेडिङ र ब्राण्डिङ गरी बाहिरी मुलुकबाट आयात हुने आलुलाई विस्थापित गर्नुपर्ने उहाँले बताउनुभएको छ । त्यसका लागि मन्त्रालयले नीतिगत र पूर्वाधारमा सहयोग साथ दिन सदैव तयार रहेको मन्त्रालयकी प्रवक्ता समेत रहनुभएका पण्डितले उक्त कार्यक्रममा बताउनुभयो । लिसंखुपाखर गाउँपालिकाकी उपाध्यक्ष मिठुदेवी लामाले मुडेलगायत पालिकाको विभिन्न स्थानमा कृषकले उत्पादन गरेको आलु लगायतको कृषि उपजको चिस्यान केन्द्र स्थापना गरेको र त्यस केन्द्र छिट्टै सञ्चालनमा आउने जानकारी दिनुभयो ।
कृषिमा आधुनिकीकरण र यान्त्रिककरण गर्दै कृषि, पशुपालनमा गाउँपालिकाले कृषकलाई अनुदान लगायतको सहयोग गर्दै आएको लामाको भनाइ छ ।
केन्द्रले स्वर्णजयन्तीको अवसरमा सहसचिव पण्डितको बाहुलीबाट माटोरहित एरोपोनिक्स प्रविधिमार्फत आलु बीउ उत्पादन गर्ने कार्य शुभारम्भ गरेको छ । उक्त कार्यक्रममा ५० भन्दा बढी जातका आलुका परिकार प्रर्दशनी गरेको छ । आलु उत्पादन गरेर आत्मनिर्भर हुने कृषक, केन्द्रका पूर्व कर्मचारी लगायतलाई सम्मान गरेको छ । स्मरण रहोस् मुडे आसपास क्षेत्रबाट वार्षिक ७१ करोडको आलु निर्यात हुने गर्छ ।