• १६ असार २०८२, सोमबार

संसद् भाषण र नाराबाजी गर्ने ठाउँ होइन : सभामुख घिमिरे

blog

सभामुख देवराज घिमिरे । तस्बिर : केशब गुरुङ

काठमाडाैं, असार १६ गते । सभामुख देवराज घिमिरेले संसद्लाई जनताको पक्षमा निर्णय लिने र व्यवस्थाप्रति जनआस्था बढाउने संस्थाको रूपमा विकास गर्नुपर्ने बताउनुभएको छ । 

संसद् दिवस, २०८२ को अवसरमा सोमवार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख घिमिरेले यस्तो बताउनुभएको हो । उहाँले संसद्को भूमिकालाई बहस, भाषण र नाराबाजी गर्ने मञ्चको रुपमा विकास गर्न नहुने बताउनुभयाे । 

उहाँले गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन भइरहेका प्रयासहरूलाई विफल पार्न संसद्ले महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो । उहाँले पूर्वसांसदहरूको ज्ञान, अनुभव र क्षमताको उपयोग गर्दै वर्तमान चुनौतीहरू सामना गर्नुपर्ने आवश्यकता रहेको पनि उल्लेख गर्नुभयाे । संसद्को प्रभावकारितामाथि प्रश्न खडा गर्नेमात्र नभई संसदीय व्यवस्था र प्रणालीमाथि चुनौती खडा गर्ने वितण्डताहरु भोगिरहेको उल्लेख गर्दै व्यवस्था र प्रणालीको रक्षाका लागि एकजुट हुन जरुरी रहेको उहाँकाे भनाइ छ ।


उहाँले भन्नुभयो, ‘संसद् भाषण र नारावाजी गर्ने ठाउँ होइन । यो कार्य गर्ने, निर्णय लिने र परिणाम दिने मञ्चको रुपबाट यसलाई लानुपर्छ । जनताको आस्था बलियो बनाउने कुरा संसद्ले खेल्ने भूमिका हो । त्यो भूमिका खेल्नको लागि अहिले आइरहेका बहुआयामिक चुनौतीहरु छन् । खासगरी गणतन्त्रप्रति जनताको वितृष्णा बढाउन सकिन्छ कि भनेर अनेक ढङ्गबाट गरिएका कोसिसहरु निष्फल पार्नु नै आजको प्रमुख आवश्यकता र कर्तव्य हो । त्यसो गर्नको लागि संसदमाथि आशा, विश्वास जगाउनेगरी कामहरु गर्नुपर्छ।’

संसद्लाई प्रभावकारी बनाउन सशक्त सचिवालयको आवश्यकता रहेको उहाँको भनाइ छ ।