प्रेमराज सिम्खडा
कालीकोट, असार १६ गते । पहिरो खसेर अवरुद्ध भएको कर्णाली राजमार्ग सुचारु भएको छ । सामान्य वर्षाका कारणले कर्णाली राजमार्गको जितेनजिक पहिरो खस्दा जिते–मान्म सडकखण्ड अवरुद्ध भएको थियोे ।
पहिरो पन्छाएपछि राजमार्ग खुलेको हो । सडक अवरुद्ध हुँदा कालीकोट सदरमुकाम मान्म, जुम्ला, मुगुबाट सुर्खेतका लागि छुटेका यातायात बन्द हुँदा यात्रुले सास्ती पाएका थिए । बिहानदेखि सडक अवरुद्ध भएको थियो । खाँडाचक्र –१ का मिलन खड्काका अनुसार वर्षा सुरु भएसँगै कर्णाली राजमार्गमा पहिरो झर्न सुरु भएको छ ।
जितेसँगै हुल्म, लगायतका ठाउँमा पहिरो झरेको छ । स्थानीय सरकारले राजमार्ग जोड्न खनेका सहायक सडक र बेला–बेला मर्मतको नाममा किस्ता किस्तामा सडक फराकिलो पार्ने चलनका कारणले जमिन थर्किदा पहिरो झर्ने खतरा बढ्दैआएको छ ।
जिते भिरको चट्टान फुटेर पहिरो झरेपछि केही घण्टा राजमार्ग बन्द भएको थियो । सडक बन्द हुँदा यात्रुलाई समस्या भएको थियो । पहिरो झरेको ठाउँमा कुनै होटल पसल नहुँदा समस्या भएको यात्रुको गुनासो छ ।
पहिरो पञ्छाएर सडक खुलेसँगै यात्रु गन्तब्यतर्फ लागेका छन् । जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख डिएसपी टेकबहादुर रावतले पहिरो केही छिनमै खुलेको भए पनि साँघुरो सडकका कारणले दोहोराे गाडी पास गराउँदा समय लागेको बताउनुभयो ।
डिएसपी रावतका अनुसार अहिले बाटो सुचारु भएको छ । वर्षाको समयमा कर्णाली राजमार्ग छिनभरमा बन्द र छिनभरमा खुल्ने गर्दछ, उहाँले भन्नुभयो । पहिरो पन्छाउनका लागि सडक कार्यालयले स्काभेटर तयारी अवस्थामा राख्ने गरे पनि पहिरो पन्छाउन समय लाग्ने उहाँको भनाइ छ ।