मध्यविन्दु समाचारदाता
मध्यविन्दु , असार १६ गते । गण्डकी प्रदेश सरकारका कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री पद्मा जिसी श्रेष्ठले कृषि पेसालाई प्रविधिमैत्री बनाउन जरुरी रहेको बताउनुभएको छ ।
कृषि ज्ञानकेन्द्र र देवचुली नगरपालिकाको आयोजनामा २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव–२०८२ को अवसर पारेर कुजौलीमा आयोजना गरिएको कार्यक्रममा मन्त्री जिसीले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो, “अबको युग प्रविधिको युग हो, त्यसैले अब कृषिमा प्रविधिको प्रयोग गरेर लागत घटाउने र उत्पादन बढाउने काममा हामी लाग्नुपर्छ ।”
मन्त्री जिसीले कृषि प्रधान देश भनेर नारा लगाउने तर कृषि क्षेत्रको विकासका लागि काम गर्न नसके त्यो नारामा मात्रै सीमित हुने धारणा राख्नुभयो । कृषि क्षेत्रको विकास गर्दै देशको समृद्धि हासिल गर्नुपर्नेमा उहाँको जोड थियो । कृषि उपजले बजार नपाएको धेरै गुनासो किसानबाट आउने गरेको भन्दै त्यसका लागि बजार व्यवस्थापन गर्ने कुरामा मातहतका निकायसँग छलफलसमेत भएको बताउनुभयो । किसानका समस्या समाधान गर्ने कुरामा आफूले पहल गरिरहेको बताउनुभयो ।
कार्यक्रममा देवचुली नगरपालिकाका प्रमुख हरिप्रसाद न्यौपानेले डिप बोरिङ मात्रै सिँचाइका विकल्प होइन भन्दै प्राकृतिक रूपमा रहेका खोलाखोल्सीको संरक्षण गर्दै सिँचाइको प्रबन्ध गर्ने काममा देवचुली नगरपालिकाले योजना बनाएको बताउनुभयो । डिप बोरिङले किसानको उत्पादन लागत वृद्धि गर्ने तर्क नगर प्रमुख न्यौपानेले गर्नुभयो । डिप बोरिङले लागतमा वृद्धि र जमिनमुनिको पानीको स्रोत सुक्ने हुँदा प्राकृतिक रूपमा रहेका खोलानालालाई संरक्षण गरेर सिँचाइ गर्न जरुरी रहेको उहाँले औँल्याउनुभयो ।
कृषिमा कसरी लागत कम गर्ने र उत्पादनमा वृद्धि गर्ने भन्ने कुरामा आफूहरू निकै चिन्तित रहेको बताउनुभयो । उहाँले कृषिलाई आत्मनिर्भर बनाएर लागत कम गर्ने केही योजना पालिकाले बनाएको र त्यो योजना सफल बनाउन गण्डकी प्रदेश सरकारले सहयोग गर्ने छ भन्नेमा आफू विश्वस्त रहेको बताउनुभयो ।
कार्यक्रममा कृषि ज्ञानकेन्द्र नवलपुरका प्रमुख कुलप्रसाद तिवारीले राष्ट्रिय धान दिवसको महत्त्व, धान आयात र निर्यातको अवस्थाका बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो । कार्यक्रममा हिले दौड, हिलोमा डोरी तान्ने र हिलोमा माछा छोप्ने प्रतियोगितासमेत भएको थियो । नवलपुरमा हालसम्म ३० प्रतिशत रोपाइँ सकिएको कृषि ज्ञानकेन्द्रका सूचना अधिकारी विश्वास काफ्लेले जानकारी दिनुभयो ।