भवानीदत्त भट्ट
कञ्चनपुर, असार १६ गते । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण कञ्चनपुरका विभिन्न स्थान डुबानमा परेका छन् । जिल्लाका विभिन्न स्थानमा गरी सोमबार साँझसम्म १५ परिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको हो ।
वर्षापछि आएको बाढीले जिल्लाको कृष्णपुर नगरपालिका ५ र ७ मा केही परिवारलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । आइतबार दिउँसो कृष्णपुर नगरपालिका-५ स्थित स्थानीय आरती विकको परिवारलाई सुरक्षित स्थानमा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) सागर बोहराले जानकारी दिनुभयो।
बाढीका कारण उहाँको घर डुबानमा परेपछि आरतीसहित ४ जना परिवारका सदस्यहरूलाई नजिकैको पवित्र आधारभूत विद्यालयमा सारिएको डिएसपी बोहराले बताउनुभयो ।
यस्तै, कृष्णपुर नगरपालिका ७ का ७३ वर्षीया कमला पार्की र उहाँका १४ वर्षीय नातिनी आशा पार्कीलाई सुरक्षित स्थानमा सारिएको जनाइएको छ । उहाँहरूलाई नजिकै आफन्तको घरमा सारिएको डिएसपी बोहराले बताउनुभयो ।
भीमदत्त नगरपालिका–वेदकोट सीमानाका पाँच घरमा र पुर्नवास नगरपालिकामा सात घरमा बाढी पसेको प्रहरीले जनाएको छ । बाढीले घर डुबानमा परेपछि उनीहरूलाई सुरक्षित स्थानमा सारिएको प्रहरीले जनाएको छ । पानी निकास हुन नपाउँदा जिल्लामा अत्यधिक बस्ती डुवानमा परेको जनाइएको छ।
प्रहरीका अनुसार आइतबार दिउँसो भीमदत्त नगरपालिका १९ त्रिवेणी टोल बस्ने कलावती जोशीको कच्चीघरमा पानी पसेको छ । जोशीको घर डुवानमा परेपछि पाँच जना परिवारका सदस्यलाई नजिकैको सिद्धनाथ आधारभुत विद्यालयमा लगिएको डिएसपी बोहराले जानकारी दिनुभयो । डुबानका कारण जोशीले पालेका ५ बाख्रा, २ गाइ, १ भैसी, विस्तापित भइ सुरक्षित स्थानमा सारीएको जनाइएको छ ।
लगातारको वर्षाका कारण जिल्लाको बेलौरीका शान्तिपुर, कलकत्ता, शिव नगर, खल्ला कुण्डा लगायतका क्षेत्र प्रभावित बनेका छन् ।
महाकाली बेसिन कार्यालयका प्रमुख संजयकुमार शाहका अनुसार आइतबार रातिदेखि बेलौरीमा २ सय ४९ मिलिमिटर वर्षा मापन गरिएको छ । भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन महाकाली बेसिन कार्यालय अत्तरियाले आग्रह गरेको छ । अत्यधिक वर्षाका कारण होचा स्थानमा बनेका घरहरूमा डुबानको जोखिम बढेको छ । महाकाली नदीमा पानीको बहाव खतरा तहभन्दा तल ६५ हजार चार सय ९० क्युसेक रहेको छ ।
यस्तै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सोमबार एक सूचना जारी गर्दे असार १७ गतेसम्म भारी वर्षा हुने पूर्वानुमान गरिएकाले जिल्लाका नदी तटीय क्षेत्रका बसोवासीहरूलाई सतर्कता अपनाउन आग्रह गरेको छ ।