• १६ असार २०८२, सोमबार

प्रदेश सरकारको प्राथमिकतामा कृषि क्षेत्र

blog

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे ।

पोखरा समाचारदाता

पोखरा, असार १६ गते । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले कृषिलाई प्राथमिकतामा राखी आवश्यक लगानी गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ । उहाँले २२ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा आइतबार शुभकामना सन्देश व्यक्त गर्दै सो कुरा बताउनुभएको हो । 

शुभकामना सन्देशमा उहाँले किसानको निरन्तर श्रम, समर्पण र उत्पादनले देशको खाद्य सुरक्षामा अमूल्य योगदान पुर्‍याएको भन्दै व्यावसायिक कृषि उत्पादनमा जोड दिनुपर्ने उल्लेख गर्नुभएको छ । उहाँले स्थानीय बालीको संरक्षण, उत्पादनमा आधारित अनुदान, कृषि उत्पादनको बजारीकरण, मल, बिउ र सिँचाइको व्यवस्थापन र खाद्य सुरक्षाका विषयलाई गण्डकी प्रदेश सरकारले नीति तथा कार्यक्रम र बजेटमा प्राथमिकताका साथ समावेश गरेको पनि उहाँले उल्लेख गर्नुभएको छ । 

‘आफ्नो माटोमा उत्पादन, आफ्नै श्रममा सम्मान, खाद्य सम्प्रभुतासहितको आत्मनिर्भर र समुन्नत प्रदेश : सुखी प्रदेशवासी’ को सङ्कल्प पूरा गर्न कृषिमा आवश्यक लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । त्यसै गरी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुदमन्त्री विन्दुकुमार थापाले नेपाल किसान महासङ्घ कास्कीको आयोजनामा पोखरा महानगरपालिका–१४ को समन्वयमा खाल्टेमसिनामा आयोजित रोपाइँ महोत्सवमा कृषिलाई व्यावसायिक, प्रविधिमैत्री र युवामैत्री बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

उहाँले कृषि क्षेत्रको व्यवसायीकरण र बजारीकरण गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्न प्रदेश सरकारले बजेट व्यवस्थापन गरेको उल्लेख गर्दै यस क्षेत्रमा युवाको आकर्षण बढाउनुपर्नेमा जोड दिनुभएको छ । धान दिवसका सन्दर्भमा मन्त्री थापाले धान नेपाली जीवन, संस्कृति र आत्मनिर्भरतासँग जोडिएको उल्लेख गर्दै भन्नुभयो, “धान जीवन, संस्कृति र आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो । माटो बचाऊ, धान फलाऊ भन्ने मूल नाराको मर्म आत्मसात् गर्दै कृषि पेसाप्रति सम्मान र प्रवर्धन गर्न आवश्यक छ ।” 

उहाँले कृषि व्यवसायमा हुन सक्ने जोखिम न्यूनीकरण गरी कृषकको हकहित संरक्षण गर्न बिमा प्रिमियममा सहुलियत र व्यवसाय प्रवर्धनका लागि गण्डकी सरकारले कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने बताउनुभयो । खाद्य सुरक्षाको क्षेत्रमा प्रमुख भूमिका खेल्ने बालीको उत्पादन तथा उत्पादकत्व वृद्धिका लागि समुदायस्तरमा चैते धान तथा प्रशोधनयोग्य आलु उत्पादनसम्बन्धी कार्यक्रमको निरन्तरतामा गण्डकी सरकारले जोड दिएको उहाँको भनाइ थियो । 

कार्यक्रममा धान रोपाइँ सँगसँगै हिले दौड प्रतियोगिता र अन्य सांस्कृतिक कार्यक्रमसमेत आयोजना गरिएका थिए । नेपाल किसान महासङ्घ कास्कीले बर्सेनि असार १५ गते रोपाइँ महोत्सवको आयोजना गर्दै आएको छ ।