नेत्र शाही
जुम्ला, असार १५ गते । जुम्लाको हिमा गाउँपालिकाले सञ्चालन गर्दै आएको पढाई मेलाको शैक्षिक प्रदर्शनी यस पटक पनि गरिएको छ । मेलामा विद्यार्थीको विज्ञान क्षेत्र, कला, शिपसहित विभिन्न शैक्षिक सामग्रीहरू प्रदर्शन गरिएका छन् ।
विद्यार्थी र विद्यालयको शिप विकासमा जोड दिने हिसाबले गरिएको पढाई मेलाको शैक्षिक प्रदर्शनी आकर्षक रहेको छ । शैक्षिक प्रदर्शनीमा पढाई कुनामा आवश्यक पर्ने सामग्री, रैथाने अन्नले निर्माण गरिएका नेपालको नक्सा, मानव मुटु, आधुनिक जेसिभी, काठको हेलिकाेप्टर, गाडि, पानी घट्ट, हलो जुवा, ज्वालामुखी, राडी पाखी बुन्ने परम्परागत चाद सहित विभिन्न कलाहरू प्रदर्शन गरिएका छन् ।
माध्यामिक विद्यालय तर्फ पढाईमेला राखिएका प्रदर्शनी शैक्षिक सामग्री प्रदर्शनको नेत्र ज्योति माध्यामिक विद्यालय ओदी सम्पूर्ण विधामा प्रथम भएको छ । ओदीका विद्यार्थीले मेलामा रैथाने अनाज जौ, गहु, कोदोसहित मानव मुटु्, स्वचालित डोजर सहित विभिन्न शैक्षिक सामग्री प्रदर्शन गरेको छ । नेत्र ज्योति माविलाई १० लाख पुरस्कार दिइएको छ । आधारभुत विद्यालय तर्फ रूपाकोट आधारभुत विद्यालय प्रथम भएको र रूपाकोट आधारभुत विद्यालयलाई पाँच लाख पुरस्कार दिने घोषणा गरिएको छ ।
जुम्लाको हिमा गाउँपालिकाले तेस्रो पढाई मेला हिमा गाउँपालिका वडा नम्बर कालिका आधारभुत विद्यालयमा यस पटक सम्पन्न गरेको छ । शिक्षामा गुणस्तरता, प्रतिष्पर्धा तथा प्रोत्साहन गर्ने उद्देश्यका साथ पढाई मेला निरन्तरता दिइएको हो ।
गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीको अध्यक्षतमा शुरु भएको पढाई मेलाको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले गर्नुभयो । मेलामा हिमा गाउँपालिकाका सवै विद्यालयले गरेका कामहरूको प्रदर्शनी समेतलाई निरन्तरता दिएको छ ।
पढाई मेलामा विद्यार्थीले बनाएका शैक्षिक सामग्रीहरूको अवलोकन समेत गरिएको छ । जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, अध्यक्ष लक्ष्मणबहादुर शाही, उपाध्यक्ष सुपर्ना शाही, शिक्षा शाखा प्रमुख दन्तबहादुर रावत सहित शिक्षा विज्ञ तथा सरोकारवाला निकायले अवलोकन समेत गरेका छन् ।
हिमा गाउँपादिका शिक्षा शाखा प्रमुख दन्तबहादुर रावतका अनुसार प्रर्दशनीमा नेत्र ज्योति मावि ओदी प्रथम, राहदेव मावि मोफ्ला दृतीय र भानु माध्यामिक विद्यालय महावैपाथरखोलाले तृतीय स्थान हासिल गरेको छ । अन्य विद्यामा भने नतिजा आउने बाकी रहेको छ ।
पढाई मेलामा गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले हिमाको शैक्षिक उन्नति तथा पढ्ने बानीको विकासका लागि कर्णालीमै पहिलो पटक पढाई मेला शुरुवात गरिएको बताउनुभयो । उपाध्यक्ष सुपर्ना शाहीले पढाई मेलाको महत्त्वलाई बेझेर सक्रिय सहभागिता जनाउनु भएकोमा धन्यवाद ज्ञापन गर्नुभयो ।
जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्यले हिमा गाउँपालिकाले सामाजिक क्षेत्रमा केही काममा गरेकाले धन्यवाद दिनुभयो । उहाँले हिमा गाउँपालिकाले साक्षरता घोषणा, बालविवाह मुक्त पालिका घोषणा समेत गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका नेता अमरजङ्ग शाहीले हिमाका सकारात्मक काममा सहयोग गर्ने बताउँदै धेरै कुरा सुधार्न आवश्यक रहेकोमा जोड दिनुभयो । पढाई मेला शनिबार सम्म हुने छ, उद्घाटन कार्यक्रममा स्थानीय बाजागाजा सहितको नाच तथा विभिन्न विद्यालयको देउडा सहितको सास्कृतिक नाँच समेत गरिएको छ ।