जनार्जन खत्री
सर्लाही, असार १५ गते । सर्लाही सदरमुकाम मलङ्गवामा सुस्त गतिमा निर्माण भइरहेको हुलाकी सडकको धुलोले आजित भएका स्थानीयले आइतबार चक्काजाम गरेका छन् ।
सडकमा बुङबुङती उड्ने धुलोले स्वास्थ्य र दैनिकीमा गम्भीर असर पुर्याएको भन्दै मलङ्गवा नगरपालिका–२, का स्थानीय हातमा झाडु र कुचो बोकेर चक्काजाममा उत्रिएका हुन् । पूर्व–पश्चिम हुलाकी सडक अन्तर्गत मलङ्गवाको टावर चोकदेखि शिक्षा कार्यालयसम्मको सडक कालोपत्रे हुन नसक्दा स्थानीय लामो समयदेखि धुलोको मार खेप्न बाध्य छन् ।
हिमडुङ एन्ड थोकर-हीरा एन्ड नमिता जेभीले सडक कालोपत्रे गर्ने जिम्मेवारी पाएको छ । निर्माण व्यवसायीले लापरबाही गरी कछुवा गतिमा काम गर्दा धुलोले सारै समस्या पारिरहेको स्थानीय युवा सोहन झाले गुनासो गर्नुभयो ।
सडकको धुलोले छेउछाउ घर भएकाहरूमा दम तथा श्वासप्रश्वासको समस्या बढेको झाले बताउनुभयो । सडक कालोपत्रे गर्न माग गर्दै स्थानीयले यसरी पटकपटक प्रदर्शन गर्दै आइरहेका छन् ।
हुलाकी सडक आयोजना कार्यालय जनकपुर र जिल्ला प्रशासन कार्यालय सर्लाहीले बारम्बार आश्वासन दिए पनि कालोपत्रेको काम हुन नसकेको झाले दुःखेसो पोख्नुभयो । “आन्दोलन गरेपछि केही दिन काम गरे जस्तो गर्ने अनि फेरि अलपत्र छाडेर बेपत्ता हुने प्रवृत्ति दोहोरिँदै आएको छ,” उहाँले भन्नुुभयो,“जिम्मेवार कार्यालय र निर्माण व्यवसायीको मनोमानीका कारण सडककै धुलोले हामी अनेक रोगको सिकार हुन बाध्य भएका छौँ ।”
सडक कालोपत्रेको काम गर्दै प्रदर्शनमा उत्रिएका स्थानीयसँग प्रहरीले निर्माण व्यवसायीलाई घच्घच्याउन समन्वय गर्ने प्रतिबद्धता जनाएपछि आइतबारको चक्काजाम खुलेको छ । अलपत्र सडकको कालोपत्रे र नाला निर्माणको विषयमा जिल्ला समन्वय समितिका प्रमुख कौशलकिशोर सिंह, सरुवा भएर गइसकेका प्रमुख जिल्ला अधिकारीहरू, हुलाकी सडक आयोजनाका प्रमुख कृष्णकुमार महतोलगायतले बारम्बार अनुगमन गरे पनि काम पूरा हुन सकेको छैन् ।
हुलाकी सडक आयोजना कार्यालय जनकपुरका इन्जिनियर एवं सूचना अधिकारी रन्जित रायले मलङ्गवामा हुलाकी सडक निर्माणको काम सुस्त गतिमा भएको स्वीकार गर्नुभएको छ । कालोपत्रेका लागि बेस बिछ्याएपछि तत्काल प्राइम हाल्ने काम नगर्दा धुलो बढी उडेको उहाँको भनाइ छ ।
अहिले असार महिनामा जताततै स्थानीय तह र प्रदेशको योजनाका काममा कामदार परिचालन भइरहेकाले काम गर्ने मानिस नै नपाएको निर्माण व्यवसायीले गुनासो गरिरहेका इन्जिनियर रायले बताउनुभयो । “ठेकेदारले कामदार नपाएर काम गर्न नसकेको भनिरहेका छन्,” इन्जिनियर रायले भन्नुुभयो, “काम नगरे पनि धुलो उड्न नदिन ठेकेदारले नियमित पानी हाल्नु पर्ने हो । पानी नहाल्नु ठेकेदारको कमजोरी हो ।”
इन्जिनियर रायका अनुसार बेस बिछ्याउने काम गरेर धेरै दिन त्यसै छाड्दा अझ बढी धुलो उड्ने समस्या हुन्छ । निर्माण व्यवसायीले कामदार पाए तत्काल नत्र साउन लागेपछि कालोपत्रेको काम गर्ने बताइरहेका इन्जिनियर रायको भनाइ छ ।