काठमाडौँ, असार १५ गते । नेपाल ओलम्पियन्स एसोसिएसनको चौथो साधारण सभाले दीपक विष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।
चितवनमा आइतबार भएको साधारण सभाबाट अध्यक्षमा दीपक पुन: दोस्रो कार्यकालका लाग निर्वाचित हुनुभएको हो । साधारण सभाले दीपकसहित १५ सदस्यीय कार्यसमिति निर्विरोध निर्वाचित गरेको छ ।
एसोसिएसनको दुई उपाध्यक्षमा प्रविण तुलाधर, देबु थापा महासचिवमा राजेन्द्र भण्डारी, सचिवमा मनिता श्रेष्ठ प्रधान र कोषाध्यक्षमा सन्तोषी श्रेष्ठ चयन हुनुभएको छ ।
सदस्यमा विष्णुवहादुर सिंह, मुकुन्द हरि श्रेष्ठ, टिकाराम श्रेष्ठ, भगवती केसी, विमला रानामगर, राजकुमारी पान्डे, फूलमाया क्याप्छाकी, प्रिन्स दाहाल र सफलराम श्रेष्ठ निर्वाचित हुनुभएको छ ।
यसअघि बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले साधारण सभाको उद्घाटन गर्नुभएको थियो । बन्द सत्रले महासचिव राजेन्द्र भण्डारीले पेश गरेको वार्षिक र आर्थिक प्रतिवेदनलाई सभाले पास गरेको थियो ।
साधारण सभाले स्कुल टु ओलम्पिकलाई निरन्तरता, ओलम्पियनको विवरणसहितको पुस्तक र हरेक ओलम्पिकपछि पुनर्मिलन कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ।
यस्तै बागमती प्रदेश सरकारले प्रदेशका ओलम्पियनलाई मासिक भत्ता उपलब्ध गराउने भएको छ । बागमतीका मुख्य मन्त्री बहादुर सिंह लामाले ओलम्पियन पुनर्मिलन कार्यक्रममा ओलम्पियनलाई मासिक पाँच हजार रुपियाँ भत्ता उपलब्ध गराउने घोषणा गर्नुभएको हो ।