काठमाडौं,असार १५ गते । नेपाल सुनचाँदी शिल्प व्यवसायी संघले सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र बहुमुल्य हिरा पत्थरमा लगाइएको १३ प्रतिशत मूल्य अभिवृद्धि करविरुद्ध चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।
संघले आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै चरणवद्ध आन्दोलनको घोषणा गरेको हो ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष केशवबहादुर सुनारले सरकारले आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै चरणबद्ध आन्दोलनमा जानुपरेको बताउनु भयो ।
उहाँले आगामी आर्थिक वर्षको बजेटमार्फत सुनचाँदीका गरगहनामा लगाइएको विलासिता कर र बहुमूल्य हिरा पत्थरमा लगाइएको मूल्य अभिवृद्धि कर खारेज नगर्नेसम्म आन्दोलन नछोड्ने चेतावनी दिनुभयो ।
उहाँले सुनचाँदीका गरगहनामा अनावश्यक कर लगाउँदा साना व्यवसायी तथा उपभोक्ता मारमा पर्नेतर्फ सरकारको ध्यानाकर्षण गराउनु भयो ।
उहाँले सुनको भन्सार ६ प्रतिशत कायम गर्नुपर्ने तथा सुनचाँदीको कारोबारका लागि प्रष्ट नियमावली बनाउन समेत माग गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘‘भोलिदेखि हामी चरणबद्ध आन्दोलनमा जान्छौं । ललितपुर संघ, भक्तपुर संघ, त्यसपछि हस्तकला संघ, शिल्प व्यवसायी संघ र कला व्यवसायी संघले समेत आन्दोलन गर्छ । हाम्रो माग पूरा नभएसम्म हामी सरकारलाई पूर्ण रुपमा दबाब दिइरहन्छौँ । हामी यसरी नै चुप लागेर बस्यौँ भनेर सरकारले पनि हेर्न छोड्छ भनेर हामी चरणबद्ध आन्दोलनमा थियौँ । तर पनि सरकारले सुनेन । सुनचाँदीमा उच्च मूल्य वृद्धिका कारण गरगहनाको व्यापारमा समेत गिरावट आउने र साना व्यवसायीहरु ठुला व्यवसायीहरुसँग प्रतिस्पर्धा गर्न नसक्ने परिस्थिति सिर्जना भएको छ ।’’
सरकारले अन्तर्राष्ट्रिय प्रवृत्तिअनुसार विलासिता वस्तुमा कर लगाउने नीति लिएको भए पनि व्यवसायीहरू त्यसलाई अव्यावहारिक भन्दै हटाउन माग गर्दै आएका छन् ।