काठमाडौँ, असार १५ गते । काठमाडौँ कीर्तिपुर वडा नं. ६ र ललितपुर महानगरपालिका वडा नं. १८ स्थित बागमती नदीको बहाव क्षेत्रमा थुप्रिएको गेग्य्रान व्यवस्थापनका सन्दर्भमा सरोकारवाला निकायले अध्ययन सुरु गरेका छन् । सहरी विकास मन्त्रालय अन्तर्गत अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, नेपाली सेनासहितका निकायले चोभार गल्छीदेखि माथिल्लो भागमा रहेको क्षेत्रमा थुप्रिएका ढुङ्गा, माटो र बालुवा हटाउनका लागि अध्ययन आरम्भ गरेको हो । यसअघि अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, गृह मन्त्रालय अन्तर्गत राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, ललितपुर महानगर र कीर्तिपुर नगरपालिकाको टोलीले स्थलगत अध्ययन गरेका छन् ।
नेपाली सेनाका सूचना अधिकारी सहायक रथी राजाराम बस्नेतका अनुसार सेनाले चोभारको गल्छीभन्दा माथि रहेका ढुङ्गा र गेग्य्रानबारे अध्ययन गरिरहेको जानकारी दिँदै चाँडै निष्कर्षमा पुग्ने बताउनुभयो । २०८१ असोज १० देखि १३ गतेसम्मको भीषण वर्षा र बाढीले चोभार गल्छीको माथिल्लो भागमा ठुला ढुङ्गा, लेदो र बलौटे माटो ठोस भएर बसेको छ ।
‘खन्ने होइन, सफाइ मात्रै गर्ने हो’
वर्षा र बाढीको प्रताडना सुरु भएसँगै चोभार गल्छीभन्दा माथिल्लो भागमा रहेको गेग्य्रानले बागमती नदी थुनिने जोखिम छ । अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिका सूचना अधिकारी एवं आयोजना उपनिर्देशक उद्धव नेपालका अनुसार ललितपुर महानगरपालिका वडा नं. १८ र कीर्तिपुर नगरपालिका वडा नं. ६ को पत्र एवं सिफारिसपत्र अनुसार बागमती नदीको निकास रहेको ललितपुर–१८ र कीर्तिपुर–६ बिचको चोभार क्षेत्र अन्तर्गत चोभार गल्छीमा दुवै किनारातर्फबाट पहिरो जाँदा सतह करिब दुई मिटरमाथि उठेपछि अध्ययन थालिएको हो ।
उपनिर्देशक नेपालले पहिरोका कारण गल्छीमा झरेको ठुला ठुला ढुङ्गा र थुप्रिएको माटोका कारण बहाव अवरुद्ध हुँदा वर्षायामअगावै नहटाए उक्त खण्ड अन्तर्गत सक्षम बस्तीलगायत आसपासका क्षेत्रमा खतराको सम्भावना रहेको प्रस्ट पार्नुभयो । उहाँले सोही विषयको जानकारी आएपछि पहिरो र ढुङ्गा व्यवस्थापन गर्नका लागि समितिले प्राविधिक अनुगमन एवं निरीक्षण हुँदा चोभार गल्छीभन्दा माथि ढुङ्गा खसेको र थप खस्न सक्ने अवस्था रहेको जानकारी समावेश गरी प्राविधिक प्रतिवेदन प्राप्त भएको हुनाले जोखिमको पहिचान एवं आकलन तथा आवश्यक व्यवस्थापनका लागि पहल गरिएको प्रस्ट पार्नुभयो ।
उपनिर्देशक नेपालले भन्नुभयो, “दायाँबायाँ किनारातर्फ हाल कुनै पनि संरचना बनाउने, खन्ने कार्य नगरी चोभार गल्छीभन्दा माथि नदीको बिचमा खसेका ठुला ठुला ढुङ्गा विस्फोटक पदार्थको प्रयोग नगरी नेपाली सेनाबाट मेसिन र मानवीय जनशक्ति प्रयोग गरेर हटाउने तथा उक्त क्षेत्रको सांस्कृतिक एंव ऐतिहासिक महत्वमा कुनै असर नपुग्ने गरी कार्य हुने भएकाले कीर्तिपुर नगरपालिकाबाट आवश्यक समन्वय एवं सहयोगका लागि अनुरोध गरिएको छ ।”
यसैबिच चोभार गल्छीभन्दा माथि रहेको गेग्य्रान हटाउने गृहकार्य भइरहँदा कीर्तिपुर नगरपालिकामा मङ्गलबार सार्वजनिक सुनुवाइ राखिएको छ । नगर उपप्रमुख शुभलक्ष्मी शाक्य (सुनिता) ले ऐतिहासिक र पुरातात्त्विक महत्वको चोभार गल्छीभन्दा माथिका ढुङ्गा हटाउने सन्दर्भमा निर्णय नभएको बताउँदै ऐतिहासिक पक्षलाई हेर्नुपर्ने बताउनुभयो । उहाँले चोभार गल्छी खोल्ने कुरामा आफ्नो सहमति नहुने बताउँदै सफाइ गर्ने सन्दर्भमा निर्णय हुने बाँकी रहेको जानकारी दिनुभयो ।