• २७ फागुन २०८२, बुधबार

भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा प्रतिमा निर्माण

blog

राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको प्रतिमा अनावरणपछि सामूहिक तस्बिर । तस्बिर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य

म्याग्दी, फागुन २७ गते । राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाहीको सम्मानमा म्याग्दीको सदरमुकाम बेनीमा प्रतिमा निर्माण गरिएको छ।

भलिबल खेलमा पुर्‍याउनुभएको अतुलनीय योगदानको कदर गर्दै जिल्ला खेलकुद विकास समिति म्याग्दीले रघुगङ्गा गाउँपालिका–३, पिप्लेमा जन्मनुभएकी शाहीको प्रतिमा निर्माण गरेको हो । हाल उक्त प्रतिमालाई समितिको सभाहलमा राखिएको छ ।

प्रतिमाको बुधबार बेनी नगरपालिकाका प्रमुख सुरत केसीले अनावरण गर्नुभयो । प्रतिमा निर्माणले खेलाडीको सम्मान हुनुका साथै आगामी पुस्तालाई खेलकुद क्षेत्रमा लाग्न हौसला प्रदान गर्ने विश्वास उहाँले व्यक्त गर्नुभयो ।

नगर प्रमुख केसी भन्नुहुन्छ, “प्रतिमा निर्माण भएको छ । अब बेनी बजारको उपयुक्त स्थान पहिचान गरी स्तम्भ निर्माण गरेर यो प्रतिमा प्रतिस्थापन गरिने छ । यसले जिल्लाको खेल पर्यटन विकास गर्न र महिला खेलाडीलाई खेल क्षेत्रमा अगाडि बढ्न प्रेरित गर्नेछ ।” आगामी दिनमा जिल्लालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा चिनाउने अन्य खेलाडीको पनि प्रतिमा निर्माण गरी सम्मान गरिने उहाँले बताउनुभयो ।

मालिका गाउँपालिकाका अध्यक्ष बेगप्रसाद गर्बुजाले प्रतिमा निर्माणले जिल्लाका महिला खेलाडीमा थप ऊर्जा थपेको बताउनुभयो । जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सुमन श्रेष्ठले अरुणा शाहीले नेपाली महिला भलिबललाई अन्तर्राष्ट्रिय स्तरमा पुर्‍याउन र उपाधि दिलाउन नेतृत्वदायी भूमिका निर्वाह गरेकाले सम्मानस्वरूप प्रतिमा बनाइएको जानकारी दिनुभयो ।

विभिन्न क्षेत्रबाट चन्दा सहयोग जुटाएर करिब नौ लाख रुपियाँको लागतमा प्रतिमा निर्माण गरिएको हो । अध्यक्ष श्रेष्ठका अनुसार बेनी नगरपालिका–८, कालिपुल क्षेत्रमा जग्गा व्यवस्थापन गरी सो प्रतिमालाई स्थायी रूपमा स्तम्भमा राखिने छ ।

आफ्नो सम्मानमा प्रतिमा निर्माण भएकोमा कप्तान अरुणा शाहीले खुसी व्यक्त गर्दै सबैलाई धन्यवाद दिनुभएको छ । उहाँ भन्नुहुन्छ, “प्रतिमा निर्माणले महिला खेलाडीलाई हौसला मिलेको छ । यसले मलाई आगामी दिनमा खेल क्षेत्रमा अझ बढी प्रगति गर्न प्रेरणा दिएको छ ।” सोही अवसरमा पोखराको ज्ञानुबाबा आवासीय माध्यमिक विद्यालयले पनि शाहीलाई सम्मान गरेको थियो ।

सन् २०१३ मा काठमाडौँमा भएको माल्दिभ्सविरुद्धको मैत्रीपूर्ण खेलबाट राष्ट्रिय टोलीमा डेब्यु गर्नुभएकी शाहीले टोलीको कप्तानी सम्हालेपछि नेपालले एभीसी सिनियर वुमन्स सेन्ट्रल जोनमा दुई वटा स्वर्ण, दक्षिण एसियाली खेलकुद (साग) मा ऐतिहासिक रजत र काभा वुमन्स भलिबल नेसन्स लिगमा रजत पदक जितेको छ । उहाँकै नेतृत्वमा नेपालले इतिहासमा पहिलो पटक भारतलाई पराजित गरेको थियो । डेढ दशकदेखि भलिबलमा सक्रिय शाहीले 'एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड' लगायत थुप्रै प्रतिष्ठित सम्मान प्राप्त गर्नुभएको छ ।