जर्जिया (अमेरिका), फागुन २७ गते । प्रवासी भूमिमा नेपाली भाषा र साहित्यको क्षेत्रमा क्रियाशील महिलालाई लेखन कार्यमा उत्प्रेरित गर्न आह्वान गरिएको छ ।
अमेरिकाको जर्जिया राज्यमा आयोजित छैटौँ अन्तर्राष्ट्रिय नेपाली महिला साहित्य सम्मेलनका अवसरमा वक्ताहरूले यस्तो आह्वान गरेका हुन् ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिको आयोजना तथा अनेसास जर्जिया च्याप्टरको संयोजनमा भएको उक्त कार्यक्रममा लेखक, साहित्यकार तथा प्राज्ञिक व्यक्तित्वहरूले नेपाली भाषाको उत्थानका लागि समुदायसँग हातेमालो गर्न आग्रह गरे ।
कार्यक्रमको उद्घाटन प्रमुख अतिथि जर्जिया राज्यका स्टेट सिनेटर शेख रहमानले गर्नुभएको थियो । सम्मेलनमा अनेसास बोर्ड अफ ट्रस्टी (बिओटी) का उपाध्यक्ष तीर्थराज पाण्डेय, डा. कविता लामा, तारा उप्रेती र भारती गौतमले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।
कार्यपत्र प्रस्तुत गर्दै उपाध्यक्ष पाण्डेयले भानुभक्तको 'वधूशिक्षा' मा नारीका विषयमा तत्कालीन अवस्थामा गरिएको विभेदकारी चित्रणबारे टिप्पणी गर्नुभयो । हाँले भन्नुभयो, "नारी सम्मानका लागि साहित्यमा उनीहरूको सक्रिय सहभागिता र उनीहरूमाथि हुने विभेदका बारेमा निरन्तर लेखिनु आवश्यक छ ।"
कार्यक्रममा अनेसास बोर्ड अफ ट्रस्टीका सभापति पदम विश्वकर्मा, केन्द्रीय कार्यसमितिका अध्यक्ष सर्वज्ञ वाग्ले, बोर्ड अफ ट्रस्टीका सल्लाहकार तीर्थराज अधिकारी र केन्द्रीय कार्यसमितिका वरिष्ठ उपाध्यक्ष लालगोपाल सुवेदीलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
महिला समितिकी संयोजक उर्मिला निर्दोषीको सभापतित्वमा आयोजित सो समारोहमा विभिन्न कृतिको लोकार्पण समेत गरिएको थियो । लोकार्पित कृतिहरूमा:
- अनेसास महिला समितिद्वारा प्रकाशित ‘सिर्जनामा नारी’
- हेमराज सापकोटाको जीवनीमा आधारित ‘एक्स्ट्राअर्डिनरी लाइफ अफ अ डिस्ट्रिक्ट एडमिनिस्ट्रेटर’
- तारा उप्रेतीको ‘माई लाइफ सो फार’
सो अवसरमा समाजसेवी डा. प्रल्हाद पन्त, बिन्दु पन्त, च्याप्टरका संस्थापक अध्यक्ष चेतनाथ घिमिरे र जर्जिया च्याप्टरकी अध्यक्ष मीरा कोइरालालाई सम्मान गरिएको थियो । ११ बुँदे घोषणापत्र जारी गर्दै समापन भएको उक्त कार्यक्रममा विभिन्न कविहरूले सिर्जना वाचन गर्नुका साथै विविध सांस्कृतिक प्रस्तुतिहरू समेत राखिएका थिए ।