काठमाडौँ, असार १५ गते । पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाले सेवा सुरु गरेको छ । यो देशमा सञ्चालित सबैभन्दा ठुलो मेलम्ची खानेपानी आयोजनापछिको दोस्रो खानेपानी आयोजना हो । आयोजनाबाट काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका छ हजार ३७ घरधुरीका ३१ हजार सर्वसाधारण लाभान्वित हुने भएका छन् ।
सेवा प्रवाह सुरु भएसँगै नगरपालिकाका १३ वटा वडामध्ये १० वटाका नागरिकले सुरक्षित खानेपानीको सेवा लिन सुरु गरेका छन् । यस आयोजनाले पाँचखाल नगरपालिकाको वडा नं. २, ३, ४, ६, ७, ८, ९, १०, ११ र १२ मा पानी प्रवाह सुरु गरेको हो ।
आयोजनाका निर्देशक इ. राजेन्द्रप्रसाद सापकोटाले सम्पूर्ण काम सम्पन्न गरी सेवा प्रवाह सुरु गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार निर्माण चरण अन्तर्गतका सबै संरचनाको काम सम्पन्न भइसकेको प्रमाणीकरण तथा जाँच गरी सेवा प्रवाह सुरु गरिएको हो ।
पाँचखाल नगरपालिकाका नगर प्रमुख महेश खरेलले पाँचखाल सहरी खानेपानी तथा सरसफाइ आयोजनाको पानी पाँच हजार उपभोक्ताको धारामा आइसकेको जानकारी दिनुभयो । लक्षित बाँकी उपभोक्ताको धारामा छिट्टै पानी पुग्ने बताउँदै उहाँले भन्नुभयो, “विश्व स्वास्थ्य सङ्गठनको मापदण्ड अनुसारको पानी वितरण गरिएको छ । यस पानीलाई निर्मलीकरण गरिरहनु पर्दैन ।”
सापकोटाले आयोजनाबाट राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड अनुसारको पानी चौबिसै घण्टा उपलब्ध हुने बताउनुभएको छ । भुम्लु गाउँपालिका–१०, बिमिरेस्थित सुनकोशी नदी किनारमा इनार तथा लिफ्टिङ प्रणालीमार्फत यो आयोजना निर्माण गरिएको हो । उहाँले यो आयोजना लागु भएको क्षेत्रमा प्रतिधारा दैनिक एक हजार एक लिटर पानी आउने लक्ष्य लिइएको बताउनुभयो । उहाँका अनुसार यस आयोजनाबाट प्रतिव्यक्तिले दैनिक १९२.५ लिटर पानी उपभोग गर्न पाउने प्रक्षेपण गरिएको छ ।
यो आयोजना निर्माणका लागि २०७९ पुसभित्र काम सम्पन्न गर्ने गरी २०७६ भदौ १२ गते ठेक्का सम्झौता भएको थियो । खानेपानी तथा सरसफाइ आयोजना, नगर विकास कोष र पाँचखाल नगरपालिका र निर्माण कम्पनीबिच सम्झौता भएको थियो । कुल एक अर्ब ३४ करोड ६६ लाख रुपियाँ लागतमा यस आयोजना निर्माणको जिम्मेवारी हुवाई/कन्काई (संयुक्त) ले पाएको थियो ।
‘स्काडा’ प्रणाली जडान
निर्देशक सापकोटाले आयोजनाको पानीलाई सहज र सरल रूपमा उपभोक्ताको धारासम्म पुर्याउन आयोजनाले ‘सुपरभाइजरी कन्ट्रोल एन्ड डाटा एक्विजिसन (स्काडा)’ प्रणाली जडान गरेको जानकारी दिनुभयो । सहज र सुरक्षित खानेपानी वितरणका लागि संसारभरि नै अपनाइएको अहिलेसम्मकै यो अत्याधुनिक कम्प्युटरकृत स्वचालित प्रणाली हो ।
यो अनुगमन तथा नियन्त्रण प्रणालीको जडानसँगै एउटा कोठामा बसेर कम्प्युटरको माध्यमबाट पानी प्रशोधन केन्द्रको सञ्चालन र अनुगमनका साथै पाइप लाइनमा कुन गतिमा पानी प्रवाह भइरहेको छ ? सोको अनुगमन तथा नियन्त्रण गर्न सकिने उहाँले जानकारी दिनुभयो । यस प्रणालीको सहयोगबाट पानी भण्डारण केन्द्रमा पानीको अवस्थाबारे सहजै थाहा पाउन सकिने उहाँले बताउनुभयो । यो प्रणालीको सञ्चालनले पानी वितरण, नियन्त्रण तथा अनुगमनका लागि आवश्यक पर्ने प्राविधिक जनशक्तिको सङ्ख्या घटाउन सकिने निर्देशक सापकोटाले बताउनुभयो ।