जनार्जन खत्री
सर्लाही, चैत ११ गते । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत पूर्वपश्चिम राजमार्ग विस्तारले निर्धारित गति लिन सकेको छैन। कमला–ढल्केबर–पथलैया सडक योजना (पूर्वी खण्ड) अन्तर्गत सर्लाही, महोत्तरी र धनुषामा चार लेनको राजमार्ग बनाउने काम जारी छ। तर आयोजना र निर्माण कम्पनीहरूले स्वीकार गरे अनुसार कामको गति अपेक्षाकृत सुस्त छ। सम्झौता अनुसार अहिलेसम्म २९ प्रतिशत काम सम्पन्न भइसकेको हुनु पर्ने हो, तर तीनवटै जिल्लामा औसतमा मात्र १९ प्रतिशत काम भएको आयोजनाका सूचना अधिकारी एवं इन्जिनियर रामटहल यादवले जानकारी दिनुभयो।
धनुषा खण्डमा केही बढी काम भए पनि सर्लाही र महोत्तरीमा काम कम भएको छ। सुरुमा रुख कटानमा ढिलाइ हुँदा निर्माण कम्पनीले काम गर्न सकेनन्। हाल ११ हजार ५७७ रुख कटान भइसके पनि बिजुलीको पोल सार्ने काम सुस्त हुँदा सडक विस्तारको काममा गति आउन सकेको छैन।
पूर्वी खण्डको ७४.७५ किलोमिटर भागमा मात्रै काम भइरहेको छ भने रौतहट र बारा खण्डको ठेक्का लाग्न बाँकी छ। आयोजना प्रमुख एवं सिनियर डिभिजनल इन्जिनियर राजेशकुमार दासका अनुसार बिजुलीको पोल सार्ने काम मुख्य चुनौती बनेको छ। “इरान–इजरायल द्वन्द्वले इन्धन र निर्माण सामग्रीको मूल्य बढ्ने भएकाले कामको गति अझ सुस्त हुन सक्ने चिन्ता छ,” दासले भन्नुभयो।
निर्माण कम्पनी इकेके इन्फ्रास्ट्रक्चर लिमिटेडका प्रोजेक्ट म्यानेजर प्रह्लाद ढुङ्गानाले पनि पोल समयमै नसारिँदा काम ढिलिएको बताउनुभयो। मुख्य चाडपर्व, अत्यधिक चिसो र प्रतिनिधि सभा सदस्य निर्वाचनका कारण पनि काम रोकिन पुगेको थियो।
सडकलाई १८ मिटर चौडाइको चार लेनमा स्तरोन्नति गर्ने योजना रहेको छ। मध्यभागमा चार मिटर चौडाइको मेडियनले सडकलाई दुई–दुई लेनमा छुट्ट्याउने छ। नेपाल विद्युत् प्राधिकरणले पोल सार्ने ठेक्का लगाएकोले अब कामको गति बढ्ने अपेक्षा गरिएको छ।
विश्व बैँकको १८ अर्ब ६० करोड सहयोगमा सन् २०२७ भित्र पूर्वी खण्ड सम्पन्न गर्ने लक्ष्य छ। पहिलो लटको कमला–बडहरी २२.०७ किलोमिटर सडकमा ५८० करोडमा ठेक्का लागेको छ। दोस्रो लट बडहरी–फूलजोर २९.७४ किलोमिटर र तेस्रो लट फूलजोर–बडहरी २२.९४ किलोमिटरमा एक हजार २८० करोडमा ठेक्का लागेको छ।
चार लेनको सडकले बजार तथा व्यापारिक क्षेत्रमा दुवैतिर साढे छ–साढे छ मिटर सर्भिस लेनसहित छ लेनको मार्ग प्रदान गर्ने छ। धनुषाको वीरेन्द्रबजार, सर्लाहीको लालबन्दी, नवलपुर, हरिवन र नयाँरोडमा ओभरपास समेत निर्माण गरिने योजना छ।