चन्द्र पन्दाक
ताप्लेजुङ, चैत ११ गते । ताप्लेजुङको मैवाखोला गाउँपालिकास्थित नेरुवा खोलामा निर्माण गरिँदै आएको मोटर गुड्ने (मोटरेवल) पुल भाँचिएको छ । मङ्गलबार साँझ भएको वर्षापछि नेरुवा खोलामा आएको बाढीका कारण निर्माणाधीन उक्त पुल भाँचिएको हो ।
मैवाखोला गाउँपालिका–५ र वडा ६ फाकुम्बा जोड्ने गरी नेरुवा खोलाको खार्तेमा मोटर गुड्ने पुल निर्माण गरिँदै आएको थियो । पूर्वाधार विकास कार्यालय ताप्लेजुङमार्फत निर्माण हुँदै आएको उक्त पुल खोलामा आएको बाढीका कारण भाँचिएको हो ।
निर्माण कार्य करिव अन्तिम चरणमा पुगेका बेला पुल भाँचिएको पूर्वाधार विकास कार्यालय ताप्लेजुङका प्रमुख सिनियर डिभिजन इन्जिनियर कुमार कुसलय कर्णले जानकारी दिनुभयो । सिडिइ कर्णका अनुसार निर्माणाधीन प्रि–स्ट्रेस प्रविधिको पुलको टेका (स्काफोल्डर) खोलामा आएको बाढीले भत्काएपछि पुल भाँचिएको हो ।
निर्माणाधीन पुल भाँचिएसँगै करोडौंको नोक्सानी हुन पुगेको पूर्वाधार विकास कार्यालयका लेखा अधिकृत राजकुमार सिन्चेउरीले बताउनुभयो । उहाँका अनुसार करिव नौ करोड रुपियाँको बजेटबाट उक्त मोटरेवल पुल निर्माण गरिँदै आएको थियो । चालु आर्थिक वर्षभित्र सम्पन्न गर्नेगरी सञ्जिव निर्माण सेवा, फिदिम पाँचथरले पुल निर्माणको काम गरिरहेको छ ।
यता दोभान बजार हुँदै सदरमुकाम फुङ्लिङ जोड्ने तिर्तिरे–खार्ते–फाकुम्बा–साम्तो–सिन्धोलुङ झरना सडकअन्तर्गत नेरुवाखोलाको निर्माणाधीन पुल भाँचिएपछि १२ महिना यातायात सुविधा उपभोग गर्ने स्थानीय नागरिकको चाहाना अधुरै रहन पुगेको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले बताउनुभयो । अध्यक्ष वनेमका अनुसार विशेषगरी फाकुम्बा क्षेत्रका नागरिकले यातायात सेवा उपभोग गर्नबाट बञ्चित हुनु परेको छ ।
हिउँद याममा खोलामा पानी घट्ने भएकाले पुल नहुँदा पनि उक्त सडक खण्डमा यातायात सञ्चालन हुने गरेको छ । बर्खा याममा भने नेरुवा खोलामा पानी बढ्ने हुँदा मोटरेवल पुलकै अभावमा फाकुम्बा क्षेत्रसहित सो सडक खण्डमा यात्रा गर्ने यात्रु तथा नागरिकले यातायात सुविधाबाट बञ्चित हुँदै आउनुपरेको छ ।