• ११ चैत २०८२, बुधबार

बाँकेमा अवैध बालुवा र गिट्टी उत्खनन गर्ने सवारी नियन्त्रणमा

blog

अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने सवारी साधन प्रहरी नियन्त्रणमा। तस्बिरः सिराज खान

सिराज खान
नेपालगन्ज, चैत ११ गते ।
बाँके जिल्लाका विभिन्न नदी र खोलामा अवैध रूपमा नदीजन्य पदार्थको उत्खनन र ओसारपसार तीव्र रूपमा भइरहेको पाइएको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले विभिन्न स्थानमा अवैध रूपमा बालुवा, गिट्टी लगायतको उत्खनन र ढुवानी गर्ने सवारी साधन नियन्त्रणमा लिएर सो कुराको पुष्टि गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीका अनुसार, प्रहरीलाई प्राप्त सूचनाका आधारमा जिल्लाका विभिन्न स्थानबाट अवैध उत्खन्नमा संलग्न आठ वटा सवारी साधन नियन्त्रणमा लिइएको छ।

उहाँका अनुसार कोहलपुर नगरपालिकाका विभिन्न स्थानबाट एक जेसिबी, दुई टिप्पर र एक ट्याक्टर गरी चार सवारी साधन नियन्त्रणमा लिइएको हो। यी सवारी साधन आवश्यक कारबाहीका लागि कोहलपुर नगरपालिकाको कार्यपालिका कार्यालयमा बुझाइएको छ।

त्यसैगरी, बैजनाथ गाउँपालिका–२, मैकैवारी क्षेत्रबाट अवैध उत्खनन भइरहेको सूचनाको आधारमा खटिएको टोलीले एक जेसिबी, दुई टिप्पर र एक ट्याक्टर गरी चार सवारी साधन नियन्त्रणमा लिएको छ। यी सवारी साधन बैजनाथ गाउँपालिकाको गाउँकार्यपालिकाको कार्यालयमा कारबाहीका लागि बुझाइएको छ।

प्रवक्ता पातलीले अवैध उत्खनन रोक्न नियमित अनुगमन र कारबाही तीव्र बनाइएको जानकारी दिनुभयो। साथै, विभिन्न नदी र खोलामा निगरानी बढाइएको छ। स्थानीयका अनुसार सबैभन्दा बढी अवैध उत्खनन राप्ती नदीको विभिन्न स्थानमा हुँदै आएको छ। कतिपयले नदी छेउमै क्रसर उद्योग सञ्चालन गरी मनपरी तरिकाले उत्खनन गरिरहेको गुनासो पनि छ।