काठमाडौँ, असार १५ गते । नेपाली कराते स्टार एरिका गुरुङले करातेको अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा लगातार स्वर्ण जित्दै आउनुभएको छ ।
करातेमा नेपाललाई एकपछि अर्को दिलाउँदै आउनुभएकी एरिकाले थाइल्यान्डमा शनिबार सम्पन्न थाइल्यान्ड ओपन करातेमा स्वर्ण पदक जित्नुभएको छ ।
थाइल्यान्डको स्वर्णले एरिकाको हकमा अहिले खेल्यो कि पदक जस्तै भएको छ । ‘हिमालयन वारियर’ उपनाम पाउनुभएकी एरिकाले थाइल्यान्डमा सिनियर महिला ६८ केजीमाथि आयोजक थाइल्यान्डकी चनकन खियोखामलाई हराउँदै स्वर्ण जित्नुभएको हो ।
एरिकाले गत जेठमा मोरक्कोमा सम्पन्न विश्व कराते–१ प्रिमियर लिगमा पनि ऐतिहासिक कांस्य पदक जित्नुभएको थियो । त्यतिबेला प्रशिक्षकबिनै पदक जित्नुभएकी एरिकाले हरेक प्रतियोगिताहरूमा सकारात्मक सोच राखेर खेल्दा आफुले सफलता पाएको बताउनुभएको थियो ।
कराते प्रिमियर लिगको इतिहासमै नेपाललाई पहिलो पदक कांस्य जिताउनुभएको हो । विश्वक करातेकै कठिन मानिने यस स्पर्धामा ५०औँ वरियताकी एरिकाले २०औँ वरियताकी पिएलाई हराउँदै नयाँ इतिहास रच्नुभएको थियो । एरिका हरेक खेलमा विपक्षी खेलाडीको खेल्ने तरिकालाई प्राविधिक पमा अध्ययन गरेर मात्र मैदानमा प्रस्तुत हुने गर्नुहुन्छ ।
चीनमा दुई वर्षअघि सम्पन्न १९औँ एसियाली खेलकुद (एसियाड) मा नेपालालाई ऐतिहासिक रजत पदक दिलाउनुभएकी एरिकाले त्यसपछि खेलेका हरेक प्रतियोगिताहरुमा कुनै न कुनै पदक जितिरहनुभएको छ ।
एसियाडमा एरिकाले नेपाललाई दिलाएको रजत करातेमा नेपालले पाएको पहिलो ऐतिहासिक रजत हो भने नेपालले २५ वर्षपछि एसियाडमा प्राप्त गरेको दोस्रो रजत हो । एरिकाअघि तेक्वान्दोकी सविता राजभण्डारीले नेपालका लागि रजत दिलाउनुभएको थियो ।
एरिकासँगै थाइल्यान्ड ओपन करातेमा नेपालका लागि अन्य खेलाडीले पनि पदक दिलाएका छन् । नेपालका लागि पुरुष यु–१२ तर्फ ३७ केजीमा सम्पन्न बस्नेतले रजत, सिनियर पुरुष ७५ केजीमा राजिव पुडासैनीले कांस्य र सिनियर महिला कुमिते ६८ केजीमा कृतिका अधिकारीले कांस्य जित्नुभयो ।
यस्तै सिनियर महिला ५५ केजीमा सबिना श्रेष्ठले कांस्य, सिनियर महिला ५० केजीमा वर्षा बुढामगरले कांस्य, महिला यु–१४ ५२ केजीमा दिया तामाङले कांस्य, पुरुष ४५ केजीमा आशिष हरिजनले कांस्य र यु–१४ पुरुष ५० केजीमा प्रजल थापाले कांस्य दिलाउनुभयो । नेपाली टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ हुनुहुन्थ्यो ।