बेलक्याम्प, संयुक्त राज्य अमेरिका, असार १५ गते । अमेरिकाको चर्को गर्मीमा स्नोम्यान र स्लेजले सजाइएका धातुका कन्टेनरहरूको माग बढेको छ तर उनीहरू बन्ने उद्योग तथा फर्महरू राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को इस्पात करका कारण कन्टेनर निर्माणका लागि चाहिने स्टिलको अभावको सामना गरिरहेका छन् ।
बाल्टिमोरको उत्तरपूर्वमा मेरिल्यान्डको बेलक्याम्पमा रहेको ‘इन्डिपेन्डेन्ट क्यान फ्याक्ट्री’ का कार्यकारी अधिकृत रिक ह्युथरले १४ वर्षको उमेरमा आफ्नो परिवारको व्यवसायमा कसरी काम गर्न थाले भन्ने कुरा कोट्याउँदै भन्नुभयो, “म मेरो टिनका क्यान उत्पादन कम्पनीलाई आगामी पुस्तासम्म जीवित राख्न कटिबद्ध रहेको छु तर ट्रम्पको करवृद्धिले यो कार्यलाई जटिल बनाइरहेको छ ।” “हामी अहिले अस्तव्यस्तताबिच बाँचिरहेका छौँ,” उहाँले एएफपीसँग भन्नुभयो ।
गत जनवरीमा राष्ट्रपतिको पुनः जिम्मेवारी सम्हालेपछि ट्रम्पले आयातित स्टिल र आल्मुनियममा २५ प्रतिशत कर लगाउनुभएको थियो । यसले इन्डिपेन्डेन्ट क्यानको गतिविधिमा असर गरेको छ । ह्युथरले कम्पनीमा क्यान बनाउने स्टिलको मूल्य अत्यधिक बढेपछि नयाँ खरिद रोकिएको अभाव बढेको बताउनुभयो । नयाँ कर नीतिका कारण कम्पनीले क्यानको मूल्य समायोजन गरेर बजारमा सामान पठाउनुको विकल्प नरहेको बताउनुभयो ।
इस्पात प्लेटको अभाव
ह्युथरको कारखानामा कुकीज, सुक्खा फल, कफी र दूध पाउडर जस्ता दैनिक खाद्य सामग्रीको सुरक्षित भण्डारणका लागि कन्टेनर बनाउन टिनको लेप लगाइएका पाताहरूको प्रयोग गरिन्छ । उहाँको जस्तो कम्पनीका लागि अमेरिकामा निर्मित टिनप्लेट पर्याप्त छैन । उहाँले भन्नुभयो, “टिनका भाँडा (क्यान) बनाउन हामी केवल २५ प्रतिशत टिनप्लेट संयुक्त राज्य अमेरिकाबाट प्राप्त गर्नसक्छौँ । हाम्रो इस्पातको ७० प्रतिशत हिस्सा हामी छिमेकबाट खरीद गर्न आवश्यक छ ।”
ह्युथर अमेरिकी उत्पादन आधार बढाउने पक्षधर भए तापनि विश्वव्यापीकरण यति भएको छ कि ट्रम्पको विधिहरूले सामान अभाव बढाउने चिन्ता उहाँलाई छ । ट्रम्पले ठूला करको एक श्रृङ्खलाको घोषणा गर्नुभएको छ । ती मध्ये केहीलाई व्यापार वार्ताका लागि दवाव दिन कतिपय देशले उत्पादन नगर्ने र विदेशबाट आयात गर्नेपर्ने वस्तुहरूमा पनि प्रशासनले कर लगाएको छ ।
अहिले विभिन्न चार निर्माणस्थलमा लगभग ४०० व्यक्तिहरूलाई प्रत्यक्ष रोजगार दिइरहेको इन्डिपेन्डेन्ट क्यान उदोगले वर्तमान उथलपुथलको बावजुद कुनै पनि उत्पादनलाई कम गर्ने सम्भावना नरहेको बरू उल्टै यसको माग बढिरहेकाले उत्पादनलाई बढाउनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो । ह्युथरले ट्रम्पको पहिलो राष्ट्रपतीय कार्यकालमा स्टिलमा गरिएको कर वृद्धिका कारण आयोवामा कम्पनीको एउटा प्लान्ट गत वर्ष आंशिक रूपमा बन्द भएको बताउनुभयो ।
मूल्य वृद्धि
“यदि राष्ट्रपतिले घोषणा गरिएको इस्पातमा ५० प्रतिशतसम्म कर लगाइएमा आफ्नो उदोगले अन्ततः २० प्रतिशतभन्दा बढी मूल्यहरू बढाउनु पर्नेछ किनकि टिनप्लेटले उसको उत्पादन लागतको एक भागको प्रतिनिधित्व गर्दछ,” ह्युथरले भन्नुभयो । अर्थव्यवस्थाको बारेमा चिन्ता र पर्याप्त व्यवसाय नभएको कारण केही क्रेताहरूले यस वर्ष आफ्नो अर्डरमा २० देखि २५ प्रतिशतले कटौती गरिसकेका उहाँले बताउनुभयो ।
ह्युथरले कोभिड-१९ सङ्कटको आफ्नो अनुभवलाई उद्धृत गर्दै भन्नुभयो, “अहिले अमेरिकीहरू अमेरिकी सामान किन्न इच्छुक देखिन्छन् तर अभावले मागलाई सम्बोधन गर्न असहज भइरहेको छ । उहाँले भन्नुभयो, “महामारीको समयमा चीनसँगको आयात बन्द भएको र बन्दरगाहहरू बन्द भएकोले हाम्रो व्यापार ५० प्रतिशतले बढ्यो तर कच्चा सामग्रीको अभावमा माग पूरा गर्न असमर्थ हुनुपरेको थियो । जब महामारी समाप्त भयो, ग्राहकहरू चीनबाट खरिद गर्न थाले ।” “आज यदि मानिसहरू हामीकहाँ आउन चाहन्छन् भने, हामी उनीहरूको माग सम्बोधन गर्ने प्रयास गर्नेछौँ । यसका लागि हामीले कम्तीमा दुई वर्षको सम्झौता गर्न आवश्यक छ ।” रासस/एएफपी