• १६ असार २०८२, सोमबार

हाँस्य कलाकार, पत्रकार र समाजसेवी सम्मानित

blog

वरिष्ठ हाँस्य कलाकार किरण केसी ‘राता मकै’ को ६८ औं जन्मोत्सवको अवसरमा आइतबार ललितपुरको इमाडोलमा आयोजित एक कार्यक्रममा वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ लगायतका । तस्बिर : सागर बस्नेत ।

काठमाडौँ, असार १५ गते । लेखक, निर्देशक तथा हास्यव्यङ्ग्य कलाकार कमलकान्त मैनालीसहित कलाकार, पत्रकार र समाजसेवी सम्मानित हुनुभएको छ । 

वरिष्ठ हाँस्य कलाकार किरण केसी ‘राता मकै’ को ६८ औँ जन्मोत्सवको अवसरमा आइतबार ललितपुरको इमाडोलमा आयोजित एक कार्यक्रममा उहाँहरू सम्मानित हुनुभएको छ । 

कलाकार केसीले आफ्नो जन्मदिन परिवारका सिमित व्यक्तिसँग मनाउन सकिने भए पनि  कला क्षेत्रमा र समाजमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका व्यक्तित्वलाई सम्मान गर्न चाहेको धारणा राख्नुभयो ।

वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठले केसीको व्यक्तित्व कहिल्यै नथाक्ने, हसिलो, फुर्तिलो किसिमको रहेको भन्नुहुँदै शुभकामना व्यक्त गर्नुभयो । 

उहाँले हाँस्यव्यङ्ग्य क्षेत्रका कलाकारले घोचपेच गर्नुपर्ने हुँदा कसैले आफ्नो नसम्झिने भनाइ राख्नुभयो । 

उहाँले भन्नुभयो, “हाँस्यव्यङ्ग्य क्षेत्रका कलाकार हामी सबै एक परिवारका जस्तै हौं । हाँस्यव्यङ्ग्यमा सबैलाई घोचपेच हुन्छ । कसैले आफ्नो सम्झिँदैन । कतिले विभिन्न लान्छाना लाउँछन् । आफूले गल्ती गर्न हुँदैन, त्यस्ता लान्छाना अस्थायी हुन्छन् । कानुनले, संविधानले हुन्न भनेको कुरा, आफ्नो धर्म, आत्माले गर्न हुन्न भनेको कुरा हामीले गरेका छैनौं । त्यसैले हामी ढुक्क छौं । त्यस्ता लान्छानाले हामीलाई छुँदैन ।”

कार्यक्रममा हाँस्यव्यङ्ग्य क्षेत्रका कलाकारहरू सबिता गुरुङ, सुशिला निरौला, निर्देशक तथा कलाकार राजशरण बस्नेत, चलचित्र पत्रकारद्वय राजन घिमिरे र शारदा थापा, समाजसेवीद्वय प्यारासिंह न्यौपाने र श्रीनेहा पोखरेल सम्मानित हुनुभयो ।

उहाँहरूलाई चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ हाँस्यव्यङ्ग्य कलाकार मदनकृष्ण श्रेष्ठ, लेखक, निर्माता तथा निर्देशक प्रकाश सायमी, हाँस्यव्यङ्ग्य कलाकार लगायतले सम्मान गर्नुभयो । जन्मोत्सवको अवसरमा रक्तदान कार्यक्रम पनि आयोजना गरिएको छ ।