• १५ असार २०८२, आइतबार

विद्यार्थीले मुलुक बदल्ने सपना देख्नुपर्छ : शिक्षामन्त्री पन्त

blog

मदन भण्डारी मेमोरियल कलेजमा शनिबार आयोजित २४ औं वार्षिकोत्सव समारोहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त ।

काठमाडौं, असार १४ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यार्थी युवाले मुलुक बदल्ने सपना देख्नुपर्ने बताउनुभएको छ । मदन भण्डारी मेमोरियल कलेजमा शनिबार आयोजित २४ औं वार्षिकोत्सव समारोहमा उहाँले सो कुरा बताउनुभयो । 

शिक्षामन्त्री पन्तले भन्नुभयो, “युवा साथीलाई अपिल गर्न चाहन्छु । तपाईहरुसँग यो मुलुकलाई बदल्ने सपना छ कि छैन ? हाम्रो पुस्ताले त विगतमा गर्‍यौं। हाम्रो पुस्ताले आगामी दिनमा यो मुलुकलाई नेतृत्व दिन्छौं भन्ने होइन । भोलिका प्रधानमन्त्री, मन्त्री, सांसद हुने हो कि ? यहाँबाट डिग्री मात्रै लिने र न्युयोर्कमा कुनै रेस्टुरेन्टमा भाडा मस्काउने हो कि । लस एन्जल्समा कुनै होटलमा, सिकागोतिर कतै पेट्रोल पम्पतिर काम गरिराख्ने हो कि अथवा अष्ट्रेलिया र सिड्नीको गल्लीमा कतै हराउने हो ? बाटो तपाइहरुको अगाडि छ ।”

उहाँले शिक्षकले राम्रो शिक्षा दिएर राष्ट्र निर्माणमा योगदान दिन सक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राम्रो शिक्षा दिनु नै शिक्षकहरुले राष्ट्र निर्माणमा पुर्‍याउने योगदान हो । आफ्ना विद्यार्थीलाई प्रभावित गर्नू । जीवनभर उनीहरुको मनमा बसिराख्नु ठुलो कुरा हो ।”  उहाँले विद्यार्थीको व्यक्तित्व निर्माणमा शिक्षकको भूमिका महत्वपूर्ण हुने बताउनुभएको छ । 

शिक्षामन्त्री पन्तले भन्नुभयो, “सबै कुरा गुगल, च्याटजिपिटीबाट खोज्यो भने पाउन सकिन्छ । तर मान्छे बनाउने कुरा कम भइरहेको छ । मानवीयता एपबाट आउँदैन । मानवीयता मान्छेको संगतबाट आउँछ । मैले हजुरआमा र हजुरबुवाको संगतबाट धेरै कुरा सिकें । सानो अवस्थामा जे संस्कार छ र बस्छ त्यसले व्यक्तित्व निर्माणमा ठूलो भूमिका राख्छ ।” उहाँले विद्यार्थीको मनमा बस्नेगरी पढाउन सक्ने शिक्षण कला शिक्षकमा हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो, “अर्को व्यक्तित्व निर्माण गर्ने मान्छे भनेका शिक्षक हुन् । हाम्रो माग पुरा गर्ने कि नगर्ने ? नगरे देखाइदिऊँ ? भन्ने विद्यार्थी हामीलाई चाहिएको होइन । मेरो मनमा बस्ने गरी पढाउने शिक्षकहरुको ठुलो मेमोरी छ । शिक्षकले कविता राम्ररी नपढाइदिएको भए मेरो साहित्यमा रुची नै जाँदैनथियो । पढाउने भनेको छुट्टै कला हो । तपाई आफू राम्रोसँग लेखेर डिग्री पास गर्न सक्नुहुन्छ तर, विद्यार्थीलाई ४०, ४५ मिनेट बाँध्न त अलि गाह्रो पर्छ नि ।”

मदन भण्डारी मेमोरियल कलेजका क्याम्पस प्रमुख डा. बाबुराम अधिकारीले जननेता मदन भण्डारीको विचार र दर्शनलाई व्यवहारिकरुपमा लागू गर्ने उद्देश्यले यस कलेजको स्थापना भएको बताउनुभयो ।

उहाँले बजारको आवश्यकता र कलेजको उद्देश्य अनुरुप थप नयाँ विषय थप्न खोजेको भन्नुहुँदै यसका लागि शिक्षामन्त्रीसहित त्रिभुवन विश्वविद्यालय लगायत सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुभयो । कार्यक्रममा पूर्वमन्त्री महेन्द्र पाण्डे, पूर्वमन्त्री डा. विमला राई पौड्याल मदन भण्डारी फाउण्डेसनका अध्यक्ष उषाकिरण भण्डारी उपस्थित हुनुभएको थियो । कार्यक्रममा कलेजका उत्कृष्ट शिक्षक, विद्यार्थी, कर्मचारीलाई सम्मान गरिएको छ ।  

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।