• १३ साउन २०८१, आइतबार

आठ महिनामा साढे दुई अर्बको सिमेन्ट निर्यात

blog

काठमाडौँ, चैत ८ गते । चालु आर्थिक वर्षको आठ महिनामा साढे दुई अर्ब रुपियाँ बराबरको सिमेन्ट र क्लिङ्कर निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार चालु आवको साउनदेखि फागुन महिनासम्म २ अर्ब ४७ करोड १७ लाख रुपियाँको क्लिङ्कर तथा सिमेन्ट निर्यात गरेको हो । गत वर्ष सो अवधिमा १९ करोड ४१ लाख १८ हजार रुपियाँको समेन्ट र क्लिङ्कर निर्यात भएको थियो । मुलुकबाट एक खर्ब रुपियाँभन्दा बढीको कुल निर्यात भइरहेका बेला सिमेन्टको निर्यातमा उलेख्य वृद्धि भएको हो । 

 विभागका अनुसार आठ महिनाको अवधिमा १ अर्ब १८ करोड ८७ लाख रुपियाँको क्लिङ्कर र १ अर्ब २८ करोड ३९ लाख रुपियाँको सिमेन्ट निर्यात गरेको विभागले जनाएको छ । सरकारले सिमेन्ट निर्यातमा प्रोत्साहन गर्ने नीति लिएपछि चालु आर्थिक वर्षको सुरुदेखि नै सिमेन्ट निर्यात बढ्दै गएको हो । 

सरकारले बजेटमार्फत सिमेन्ट निर्यातमा आठ प्रतिशतसम्म नगद अनुदान दिने व्यवस्था गरेपछि २०७९ साउनदेखि निकासी सुरु भएको थियो । गत आर्थिक वर्षभरिमा ७७ करोड ९३ लाखको सिमेन्ट र क्लिङ्कर भारत निकासी भएको थियो । सरकारले स्वदेशी वस्तु निर्यातलाई प्रोत्साहन गरेपछि भारतीय सीमावर्ती क्षेत्रमा सिमेन्ट–क्लिङ्कर निर्यात बढ्न थालेको हो । 

आन्तरिक बजारमा सिमेन्टको खपत बढ्न नसकेपछि उद्योगी व्यवसायीले भारत निर्यात गर्ने गरेको बताएका छन् । आर्थिक मन्दीका कारण विकास निर्माणको काम सुस्त हुँदा आन्तरिक बजारमा सिमेन्टको खपत बढ्न नसकेको व्यवसायीको भनाइ छ । सिमेन्ट उत्पादक सङ्घका अध्यक्ष ध्रुुव थापाले आन्तरिक बजारमा खपत न्यून हुँदा सस्तो मूल्यमा निर्यात गरेकाले निर्यातमा वृद्धि भएको जानकारी दिनुभयो । आन्तरिक बजारमा सिमेन्टको माग नहुँदा धेरै उद्योगले उत्पादन गर्न नसकी बन्द हुने अवस्थामा पुग्न थालेको उहाँको भनाइ छ । 

सङ्घको तथ्याङ्क अनुसार नेपालमा ६० भन्दा धेरै सिमेन्ट उद्योग सञ्चालनमा छन् । तीमध्ये करिब १५ वटाले सिमेन्ट र क्लिङ्कर दुवै उत्पादन गर्दै आएका छन् । क्षमता अनुसार चल्न नसक्दा १५ देखि २० वटा सिमेन्ट उद्योग बन्द रहेका र अन्य उद्योग पनि बन्द हुने अवस्थामा रहेका व्यवसायीको भनाइ छ । सिमेन्ट उद्योग पूर्ण क्षमता सञ्चालन नहुने र बन्द हुन थालेपछि त्यसमा काम गर्नेको रोजगारीसमेत गुम्ने गरेको छ ।