बिष्णुप्रसाद पोखरेल
दमक, चैत ७ गते । झापामा सहकारी संस्थाहरूमा भल्ट अर्थात् सेफ नै फुटाएर चोरीका घटनाहरू बढ्न थालेका छन् । एकपछि अर्को गर्दै जिल्लाका विभिन्न ठाउँमा सेफमा राखिएका रकम चोरी हुन थालेको हो ।
झापाको गौरादह बजारमा मुख्य कार्यालय रहेको शुभलक्ष्मी सहकारी संस्थाको गौरादह ९ मा रहेको बैगुन्धुरा सेवा केन्द्रको सेफ फोरेर १२ लाख ८७ हजार ६२३ रुपियाँ चोरी भएको सहकारीका व्यवस्थापक तिलककुमार कार्कीले जनाउनु भएको छ । बचतकर्ताको पैसा चोरी भएको हो ।
उहाँका अनुसार सोमबार राति सेवा केन्द्रको भल्ट तोडफोड गरेर सो रकम चोरी भएको हो । साथै चोरले आवश्यक प्रमाण नष्ट गर्नका लागि सिसी क्यामेरा निकालेर समेत लगेका छन् । तीन वटा सिसी क्यामेरा र डी.भि.आर. पनि चोरी भएको व्यवस्थापक गिरीले जानकारी दिनुभयो ।
यसअघि कर्णाली बचत तथा ऋण सहकारी संस्था बिर्तामोड ४, साना किसान कृषि सहकारी संस्था हल्दिवारी चार, एकता बहुउद्देश्यीय सहकारी संस्था हल्दिबारीमा यस्तै घटना भएको जिल्ला सहकारी सङ्घ झापाले जनाएको छ ।
सङ्घका अध्यक्ष गणेश ढकालका अनुसार जिल्ला प्रशासन कार्यालय झापामा आफूहरूले फागुन १० गते ज्ञापनपत्र बुझाउँदै सहकारी संस्थाहरूमा चोरी र तोडफोडका घटना बढेको जनाउनुहुँदै आवश्यक सुरक्षा प्रबन्ध मिलाइदिन आग्रह गरिएको थियो ।