• ६ जेठ २०८३, बुधबार

लगानी प्रतिबद्धता उच्च भित्रिने रकम न्यून

blog

गोरखापत्र समाचारदाता

काठमाडौँ, जेठ ६ गते । मुलुकमा लगानी गर्ने भनेर प्रतिबद्धता रकम धेरै आए पनि भित्रिने रकम भने न्यून रहेको पाइएको छ । महालेखा परीक्षकको कार्यालयको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार मुुलुकमा लगानी गर्ने भनेर गरिएको प्रतिबद्धता अनुसार न्यून रकम भित्रिने गरेको हो । 

उद्योग विभागका अनुसार आर्थिक वर्ष २०८१/८२ मा ६५ अर्ब रुपियाँको लगानी प्रतिबद्धता आउँदा १२ अर्ब एक करोड रुपियाँ भित्रिएको थियो । त्यस्तै आव २०८०/८१ मा ८१ अर्ब ६९ करोड १० लाख लगानी स्वीकृत भएकोमा १० अर्ब २९ करोड २० लाख रुपियाँ लगानी प्राप्त भएको महालेखाले उल्लेख गरेको छ । लगानी स्वीकृतको १२.६० प्रतिशत रकम भित्रिएको छ ।  

यस्तै आव २०७९/८० मा ३२ अर्ब ४८ करोड २० लाख रुपियाँ लगानी स्वीकृत भएकोमा नौ अर्ब २० करोड ६० लाख रुपियाँ लगानी प्राप्त भएको छ । यो प्रतिबद्धताको २८.३४ प्रतिशत लगानी हो ।

त्यसै गरी आव २०७८/७९ मा १७ अर्ब तीन करोड ४० लाख रुपियाँ लगानी प्रस्ताव स्वीकृत भएकोमा १० अर्ब ८४ करोड ४० लाख रुपियाँ लगानी भित्रिएको छ, जुन प्रतिबद्धताको ६३.६६ प्रतिशत हो । 

प्रतिवेदन अनुसार तीन वर्षमा ३० अर्ब ३४ करोड २० लाख रुपियाँ वैदेशिक लगानी भित्रिएकोमा ७१ अर्ब ४२ करोड ८० लाख रुपियाँ बाहिरिएको छ । तीन वर्षमा लगानी प्राप्तिको तुुलनामा १३५ प्रतिशत बढीले रकम बाहिरिएको महालेखाको प्रतिवेदनमा उल्लेख छ । उद्योग विभागका सूचना अधिकारी सुरेश दाहालले सरकारले वैदेशिक लगानी भित्र्याउन नीतिगत सुधार भए पनि प्रतिबद्धता अनुसार कम रकम आउने गरेको जानकारी दिनुभयो । 

प्रतिवेदनले वैदेशिक लगानी भित्र्याउनका लागि नीतिगत स्थायित्व कायम गर्न, प्रशासनिक प्रक्रिया सरल बनाउन र लगानीमैत्री वातावरण निर्माण गरी प्रतिबद्धतालाई वास्तविक लगानीमा रूपान्तरण गर्न सम्बन्धित निकायलाई सुझाव दिएको छ । कृषि, सेवा, सूचना प्रविधि र पर्यटनमूलक उद्योगमा लगानी आउने गरेको छ ।