भूगोल अनुसार मलखाद प्रयोगको सिफारिस
सरकारले विभिन्न बालीका लागि कुन ठाउँमा कति मल हाल्ने त्यसको मात्रा तय गरेको छ । २०७५ सालदेखि माटो विज्ञान समूहले यसको अध्ययनको काम सुरु गरेको थियो । चार वर्ष लगाएर अध्ययन पूरा गरी सिफारिस गरिएको मात्रा पालिकाहरूमा पठाइएको नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले जनाएको छ ।
विद्युत् आयात प्रभावित हुँदा उद्योग समस्यामा
मुलुकभित्र उच्च माग हुने समयमा पर्याप्त विद्युत् आयात गर्न नसक्दा तराईका औद्योगिक क्षेत्रमा विद्युत् आपूर्तिमा समस्या देखिएको छ । आन्तरिक उत्पादन घट्दै गएको तर सम्बन्धित स्थानमा विद्युत् आपूर्ति गर्न पूर्वाधारको समस्या रहेकाले पनि उद्योग क्षेत्रमा पिक समयमा विद्युत् आपूर्ति गर्न समस्या भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
पोखरा विमानस्थलबाट हुने उडान बढ्दो
पोखरा–मुग्लिङ राजमार्ग पछिल्लो समय सहज नहुँदा हवाई उडान गर्नेको सङ्ख्या बढेको छ । राजमार्ग विस्तारमा ढिलाइ हुँदा हवाई यात्रा गर्न यात्रु बाध्य भए । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार एक वर्षयता नौ लाख चार हजार यात्रुले हवाई यात्रा गरेका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र पुरानो विमानस्थलबाट समेत गर्दा पोखराका सन् २०२३ मा नौ लाख ५७ हजार हवाई यात्रु रहेको विमानस्थलकी प्रवक्ता जसोदा रेग्मीले बताउनुभयो । “यी यात्रुमध्ये झन्डै एक लाख २५ हजार विदेशी यात्रु पनि रहेका छन् । पुरानो विमानस्थलबाट यात्रा गर्ने हवाई यात्रुको सङ्ख्या पनि बढेको पाइएको छ,” उहाँले भन्नुभयो । पोखरा–मुग्लिङ विस्तारका क्रममा रहेको राजमार्गका कारण पनि यात्रुले हवाई यात्रा रोज्दा विमानस्थलले छिटो गरी गति लिन पाएको रेग्मीको भनाइ छ ।
यस पटकको बजेट कनिका छरेजस्तो हुँदैन : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले परम्परागत नीति तथा कार्यक्रम र बजेटले समस्या समाधान नहुने भएकाले यसपटकको बजेट कनिका छरेजस्तो नभई अधुरा आयोजनाहरूको निर्माण कार्य सम्पन्न गर्न जोड दिइने बताउनुभएको छ ।
सुनजस्तै तनहुँका सुन्तला
तनहुँको म्याग्दे गाउँपालिका–२ उमाचोकका विश्वबहादुर अधिकारीले यो वर्ष सुन्तला बेचेर रु. ७५ लाख आम्दानी गर्नुभयो । विसं २०५२ बाट व्यावसायिकरुपमा सुन्तला खेतीमा आबद्ध उहाँले सुन्तला खेतीबाट मनग्य आम्दानी गरिरहनुभएको छ ।
एउटै वडाबाट ११ करोडको सुन्तला बिक्री
स्याङ्जाको भिरकोट नगरपालिका–७ मा यस वर्ष रु ११ करोड बढीको सुन्तला बिक्री भएको छ । बलमाटा, तिलाहार, जिमिरे, लोलुङ्गा, पाङसाङ, धोबादी, कोलडाँडा, पासिन्डाँडा, चिउरीखर्कलगायतका गाउँबाट सुन्तला उत्पादनका लागि परिचित छ ।
डिडिसीले दिएन नौ लाख ५६ हजार लिटर दुधको भुक्तानी
इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् ।
रैथाने बालीको परिकार प्रदर्शनी
स्थानीय महिलाले रैथाने बालीको परिकार तयार गरेर प्रदर्शनी गरेका छन् । रैथाने बालीको नयाँ किसिमका परिकार तयार गरी उपभोग गर्न र बिक्री गरी आम्दानी पनि गर्न सकिन्छ भनेर यसको प्रदर्शनी गरिएको हो । सिमकोट गाउँपालिका–८ का वडाध्यक्ष कमल बुढाले महिलाले रैथाने बालीको परिकार बनाउन सिक्दै त्यसको प्रदर्शनी गरेको बताउनुभयो । उक्त वडाका ४० महिलाले परिकार तयार पार्ने सिप सिक्दै परम्परागत परिकारभन्दा नयाँ नयाँ परिकार तयार पारेर प्रदर्शनी गरेका हुन् ।
फलफूल प्रशोधन उद्योग सञ्चालन
जिल्ला सदरमुकामको डोटी घटालमा फलफूल प्रशोधन उद्योग सञ्चालनमा ल्याइएको छ । उत्पादन सुरु गरेर बन्द भएको उद्योग पुनः सञ्चालन गरिएको हो । यहाँ उत्पादन हुने सुन्तला, मौसमलगायतका फलफूलका साथै सस उत्पादन गर्ने लक्ष्यका साथ उद्योग सञ्चालन गरिएको हो ।
कफी खेतीबाट विस्थापित हुँदै किसान
पाल्पामा कफी खेती गर्ने किसान विस्थापित भएका छन् । कफीमा लाग्ने गभारो रोगलाई नियन्त्रण गर्न नसक्दा चार दशकदेखि कफी खेती गर्दै आएका किसान विस्थापित भएका हुन् ।
चार महिनादेखि सिमेन्ट उद्योग बन्द
आर्थिक सङ्कटमा गुज्रँदै आएको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको उत्पादन गत चार महिनादेखि बन्द रहेको छ । आर्थिक सङ्कटसँगै व्यवस्थापकीय कमजोरीका कारण उत्पादन बन्द भएको उद्योग सञ्चालनको माग गर्दै उद्योगमा कार्यरत मजदुर आन्दोलित भएका छन् । उद्योग व्यवस्थापनले समयमा कोइला व्यवस्थापन गर्न नसक्दा उद्योगको उत्पादन झन्डै गत चार महिनादेखि बन्द रहेको छ । उद्योगको बिक्री प्रवर्धनसम्बन्धी नीति समयसापेक्ष नहुँदा उत्पादन भएको सिमेन्ट अपेक्षा अनुसार बिक्री हुन सकेको छैन । उद्योग पूर्ण क्षमतामा सञ्चालन हुन नसकेको, सिमेन्ट उत्पादन लागत बढ्दै गएको र मूल्यमा निजी उद्योगसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योग बर्सेनि घाटामा चल्दै आएको छ ।
सिमेन्ट उत्पादन बत्तिस प्रतिशतले घट्यो
सिमेन्ट उत्पादन ३० देखि ३६ प्रतिशतले गिरावट आएको छ । बजारमा माग न्यून हुँदा उत्पादनमा उल्लेख्य गिरावट आएको हो । आर्थिक सङ्कटका कारण विकास निर्माणका काम तीव्र गतिमा अगाडि बढ्न नसक्दा सिमेन्ट उत्पादनमा कमी आएको छ । ठुला जलविद्युत् आयोजना, हाउजिङ, घर निर्माण न्यून हुँदा बजारमा सिमेन्टको माग कम रहेको उद्योगीको भनाइ छ ।
श्रमिकको हितमा नभएको सम्झौता तत्काल कार्यान्वयन नहुने
वैदेशिक रोजगार बोर्ड र मलेसियाली निजी कम्पनी ‘फरेन वर्कर्स वेलफेयर म्यानेजमेन्ट सेन्टर’ (एफडब्लुडब्लुएमसी) बिच गत मङ्सिर २० गते भएको सम्झौता हाललाई कार्यान्वयन नगर्ने निर्णय गरिएको छ । बोर्डको आइतबार बसेको बैठकले प्रधानमन्त्री र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको निर्देशनलाई मान्दै उक्त निर्णय हाललाई कार्यान्वयन नगर्ने निर्णय गरेको हो । बोर्डका कार्यकारी निर्देशक डा. द्वारिका उप्रेती र सेन्टरका महानिर्देशक तानासिलिनबिच मङ्सिर २० गते सम्झौतामा हस्ताक्षर भएको थियो ।
पशुपतिनगरमा राजस्व सङ्कलन केन्द्र स्थापना
इलामको पशुपतिनगरमा सवारीसाधनका लागि इजाजतपत्र दिन राजस्व सङ्कलन केन्द्र स्थापना गरिएको छ । कोशी प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले नेपाल-भारत सीमा नाकास्थित पशुपतिनगरमा उक्त केन्द्र स्थापना गरेको हो ।
नेप्से परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा ३१ दशमलव ४९ अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक एक दशमलव ४७ प्रतिशतले घटेर दुई हजार ९८ दशमलव ६९ को विन्दुमा कायम भएको हो ।
पुँजीगत खर्चभन्दा सरकारी ऋणको साँवाब्याज तिर्न दोब्बर खर्च
महालेखा नियन्त्रक कार्यालयका अनुसार पुस मसान्तसम्ममा पुँजीगत खर्च ४९ अर्ब २३ करोड ५८ लाख बराबर छ । यही अवधिमा सरकारी ऋणको साँवाब्याज तिर्न भने एक खर्ब १६ अर्ब ५८ करोड पाँच लाख बराबर खर्च भएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको तथ्याङ्कमा देखिन्छ ।
फूलैफूलको सहर धरान
केही वर्षअघिसम्म लाहुरेको सहर भनेर चिनिने धरान अहिले फूलैफूलको सहरका रुपमा परिचित छ । लाहुरे समुदायको बाक्लो बस्ती रहेको धरानमा घरघरमा फूलको बगैँचा भेटिन्छ । विशेषगरी लाहुरे समुदायका घरका गेट, बगैँचा मात्र होइन छत र घरभित्र पनि फूलैफूलले सजाइएका छन् ।
किसान सुन्तला बगैँचा व्यवस्थापनमा व्यस्त
नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा सुन्तला बगैँचा व्यवस्थापन अभियान सञ्चालन गरिएको छ । यस यामको सुन्तला टिपेर सकिएलगत्तै जिल्लाका सुन्तला किसान बगैँचा व्यवस्थापनमा जुटेका हुन् ।
चिसोबाट किसानलाई पशु जोगाउन समस्या
गत पुसदेखि कैलालीसहित तराईका जिल्लामा चिसो अत्यधिक बढेसँगै जनजीवन प्रभावित भएको छ । चिसोले मानिस मात्र नभई घर पालुवा जनावरलाई समेत समस्या भएको छ ।
गण्डकी प्रदेशका बत्तिस स्थानीय तहद्वारा एकै पटक सम्झौता
योगदानमा आधारित सामाजिक सुरक्षा कोषको अनौपचारिक क्षेत्र अन्तर्गतको योजनामा आबद्ध हुन गण्डकी प्रदेशका ३२ स्थानीय तहले एकै पटक सम्झौता गरेका छन् । गण्डकी प्रदेश अन्तर्गतका तनहुँ, कास्की, स्याङ्जा, बागलुङ र पर्वतका ३२ वटा स्थानीय तहले शनिबार सामाजिक सुरक्षा कोषसँग एकै पटक सम्झौता गरेका हुन् । यससँगै सामाजिक सुरक्षा कोषमा आबद्ध हुने गण्डकी प्रदेशका स्थानीय तहको सङ्ख्या ३४ पुगेको छ ।
धानमा आत्मनिर्भर हुन चैते धानको क्षेत्रफल विस्तार गरिँदै
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले धानमा आत्मनिर्भर हुनका लागि चैते धान उत्पादनमा जोड दिएको छ । चालु आर्थिक वर्षमा करिब २० हजार हेक्टर क्षेत्रफलमा चैते धानको क्षेत्र विस्तार गर्ने कृषि मन्त्रालयको लक्ष्य रहेको छ । गत आवमा एक लाख चार हजार ७१२ हेक्टर क्षेत्रमा चैते धान खेती गरिएको थियो । त्यसमा २० हजार हेक्टर थपेर एक लाख २५ हजार हेक्टर पुर्याउने लक्ष्य रहेको कृषि मन्त्रालयले जनाएको छ ।
एउटै वडामा सात करोडको सुन्तला
पाँचथरको फाल्गुनन्द–७ का लीलावल्लभ नेपालले १४ रोपनीमा चार सय बोट सुन्तला रोप्नुभएको छ । त्यसमध्ये यस वर्ष २५० बोटमा फलेका सुन्तलाबाट साढे नौ लाख रुपियाँ आम्दानी भएको उहाँले बताउनुभयो । यस वर्ष उत्पादनसँगै मूल्य पनि बढेको उहाँ सुनाउनुहुन्छ । वर्षौंदेखि सुन्तला खेती गर्दै आउनुभएका मचिन्द्र आङ्देम्बे पनि पालिकाले वडालाई पकेट क्षेत्र घोषणा गरेर किसानलक्षित कार्यक्रम सुरु गरेपछि झनै हौसिनुभएको छ । एक पटक रोपेपछि २० देखि ३० वर्षसम्म फल्ने भएकाले रोग, किराको उपचार र सामान्य गोडमेल गर्दा राम्रो आम्दानी लिन सकिने उहाँ बताउनुहुन्छ ।
पाम र भटमासको तेलको व्यापार घट्दा आयातनिर्यातमा सङ्कुचन
कुनै समय गुलजार रहेको पाम र भटमासको तेलको समग्र व्यापार सुस्ताउँदा मुलुकको अन्तर्राष्ट्रिय व्यापार नै सङ्कुचनमा परेको छ । अघिल्ला दुई आर्थिक वर्षमा सबैभन्दा धेरै आयातनिर्यात हुने शीर्ष पाँचमध्ये पर्ने यी दुई वस्तुको व्यापार चालु आवमा अत्यन्त न्यून मात्र कारोबार भएको देखिन्छ । खास गरी कच्चा पाम र भटमास आयात गर्ने र त्यसलाई प्रशोधनमार्फत भारत निर्यात गरेर प्रशस्त आम्दानी भइरहेकामा भारतको एउटा नीतिका कारण यी दुवैको नेपालबाट हुने व्यापार खस्किएको हो ।
आलुखेतीमा डढुवा कीराको सङ्क्रमण
चिसोका कारण सुनसरी जिल्लाका विभिन्न क्षेत्रमा लगाइएको आलुखेतीमा डढुवा कीराको सङ्क्रमण देखिन थालेपछि किसान चिन्तित भएका छन् ।