• १५ वैशाख २०८१, शनिबार

गाउँमै अल्लो प्रशोधन गरी कपडा उत्पादन

blog

धागो उत्पादन गर्न अल्लो प्रशोधन गरेर सुकाउँदै कालीखोलाका महिला । तस्बिर : चन्द्र पन्दाक

ताप्लेजुङ समाचारदाता

ताप्लेजुङ, चैत १६ गते । ताप्लेजुङका गाउँमा नै अल्लो प्रशोधन गरी कपडा उत्पादन गर्न थालिएको छ । जङ्गलमा खेर गइरहेको अल्लो सङ्कलन गरी गाउँमै प्रशोधन गरेर धागो र कपडा उत्पादन गर्न थालिएको हो । 

जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय र सम्बन्धित स्थानीय तहको सहयोगमा गाउँमा अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन गरिँदै आएको छ । अल्लो प्रशोधन गर्ने उपकरण र कपडा बुन्ने (निर्माण गर्ने) तानलगायतका सामग्री घरेल तथा साना उद्योग कार्यालय र स्थानीय तहले उपलब्ध गराएपछि गाउँमै धागो र कपडा उत्पादन गर्न थालिएको हो । 

यहाँको फुङ्लिङ नगरपालिका, सिदिङ्वा गाउँपालिका र मैवाखोला गाउँपालिकामा अहिले अल्लो प्रशोधन गरेर धागो तथा कपडा उत्पादन गरिँदै आएको छ । घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख युवराज घोर्साईंका अनुसार सिदिङ्वा गाउँपालिका–१, कालीखोलामा अल्लो प्रशोधन गर्न सुरु गरिएको छ । गाउँपालिकाको समेत सहयोगमा कालीखोलामा अल्लो प्रशोधन गर्न सुरु भएको घोर्साईंले बताउनुभयो ।

उहाँका अनुसार कालीखोलाका स्थानीय आठ जना महिलाले अल्लो प्रशोधन गर्न सुरु गरेका छन् । अल्लोको धागो र कपडा उत्पादन गर्ने गरी घरेलु कार्यालयले तालिमको व्यवस्था गरेको छ भने अल्लो प्रशोधन तथा धागो बनाउने उपकरण, कपडा बुन्ने तानजस्ता सामग्री घरेलु कार्यालयले उपलब्ध गराएको कार्यालय प्रमुख घोर्साईंले बताउनुभयो ।

यस्तै फुङ्लिङ नगरपालिका–१०, फुरुम्बुमा हिमाली संरक्षण मञ्चसमेतको सहयोगमा अल्लो प्रशोधन गर्न सुरु गरिएको छ । यसै गरी मैवाखोला गाउँपालिकामा पनि अहिले धमाधम अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन हुँदै आएको छ । गाउँपालिकाको लघुउद्यम कार्यक्रममार्फत मैवाखोलामा अल्लोको धागो र कपडा उत्पादन गरिँदै आएको छ ।

घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख घोर्साईंले पछिल्लो अल्लोको धागो र कपडाको माग उच्च रहेको बताउनुभयो । उहाँका अनुसार धागोको प्रतिकिलो एक हजार रुपियाँसम्म बजार मूल्य रहेको छ । अल्लो कपडाबाट कोट, टोपी, झोला, जुत्तालगायतका सामग्री निर्माण गर्ने गरिएको छ ।  पछिल्लो समय अल्लोको कपडाबाट उत्पादन हुने सामग्रीप्रति प्रयोगकर्ताको आकर्षण बढ्दै गएको पाइएको छ । यता गाउँमै अल्लो प्रशोधन गरी धागो र कपडा उत्पादन हुन थालेपछि स्थानीय उद्यमीको आम्दानीको माध्यम बन्न थालेको घरेलु कार्यालयले जनाएको छ ।