• १२ असार २०८२, बिहिबार

युवकको मृत्युपछि टिप्परमा आगजनी

blog

युवकको मृत्युपछि आक्रोशित स्थानीयले टिप्परमा गरेको आगजनी । तस्बिर : जनार्जन खत्री

जनार्जन खत्री
सर्लाही, असार १२ गते ।
लालबन्दी–जब्दी सडकखण्डअन्तर्गत सर्लाहीको लालबन्दी नगरपालिका–५, मेजरगन्जमा बुधबार राति टिप्परको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

जब्दीबाट लालबन्दीतर्फ आउँदै गरेको ना. २ ख ५०१ नम्बरको टिप्परले ठक्कर दिँदा कबिलासी नगरपालिका–८, अगर्वा घर भइ पछिल्लो समय लालबन्दी–५, मेजरगन्जमा बस्दै आएका दिनेश साहका छोरा २० वर्षीय सचिन साहको घटनास्थलमै मृत्यु भएको हो । तीव्र गतिका कारण दुर्घटना भएको भन्दै आक्रोशित स्थानीयले टिप्परमा आगजनी गरेका छन् ।

स्थानीयका अनुसार सचिनलाई लालबन्दी बजारबाट पसलका लागि सरसामग्री किनेर साइकलमा घरतर्फ लैजाँदै गर्दा मेजरगन्जस्थित चक्रेश्वर महादेव मन्दिर नजिक टिप्परले ठक्कर दिएको हो । सचिन जनज्योति माध्यमिक विद्यालय लालबन्दीको कक्षा १० मा अध्ययनरत् हुनुहुन्थ्यो ।

मृतक युवकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ । टिप्पर चालक फरार रहेकाले खोजी जारी रहेको इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवम् प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीले जानकारी दिनुभयो ।

स्थानीयले आगजनी गरेर क्षति पुगेको टिप्पर बुधबार मध्य राति इलाका प्रहरी कार्यालय लालबन्दीमा ल्याएर राखिएको छ । टिप्पर दुर्घटना र त्यसपछि स्थानीयले गरेको आगजनीका कारण बधुबार राति केही घण्टा तनावग्रस्त बनेको मेजरगन्ज क्षेत्रको अवस्था बिहीबार बिहान भने सामान्य रहेको छ ।