• १२ असार २०८२, बिहिबार

मकवानपुरमा नसर्ने रोग बढ्दो

blog

नसर्ने रोगको विरुद्ध सचेतनामूलक र्‍याली । तस्बिर : अनिल पराजुली

अनिल पराजुली

हेटौँडा, असार १२ गते । मकवानपुरमा नसर्ने रोग बढ्दै गएको छ । जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार जिल्लामा मधुमेह, उच्च रक्तचाप, दमखोकी, मुटु रोग र मिर्गौलासम्बन्धी रोगका बिरामी दिनानुदिन बढ्दो क्रममा छ । 

वातावरणीय प्रदूषण, जीवनशैलीमा आएको परिवर्तन, तनाव आदिका कारण नसर्ने रोग बढ्दो क्रममा छ ।

जनस्वास्थ्य कार्यालय मकवानपुरको पाँच आर्थिक वर्षको तथ्याङ्क अनुसार आव २०७६-७७ मा एकहजार ६५४ मधुमेहका बिरामी रहेकोमा २०८०-०८१ मा बढेर नौ हजार २०६ पुगेको छ । जिल्लामा उच्च रक्तचापको बिरामी आव २०७६-७७ मा पाँच हजार ३५९ रहेकोमा २०८०-८१ मा बढेर १६ हजार २७ पुगेको छ । त्यस्तै दमखोकीका बिरामी आव २०७६-७७ मा दुई हजार १५३ रहेकोमा आव २०८०-८१ मा तीन हजार ४८१ पुगेको हो ।  

पछिल्लो समय मुटुरोग र मिगौलासम्बन्धी रोगका बिरामी पनि बढ्दै गए पनि हेटौँडा अस्पतालले सबै बिरामीको विवरण उपलब्ध नगराउँदा यकिन तथ्याङ्क आउन नसकेको जनस्वास्थ्य कार्यालय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले बताउनुभयो । उहाँले नियमित व्यायाम, शारीरिक सक्रियता, स्वस्थ आहार व्यवहार, धूमपान तथा सुर्तीजन्य पदार्थ र मदिराको लतबाट टाढा रहने, नुनको सेवन कम गर्ने, चिल्लो कम मात्रामा खाने, फलफूल तथा सागसब्जीको सेवन बढाउन सुझाव दिनुभएको छ ।

नेपालमा सन् २०१० को तथ्याङ्क अनुसार ५१ प्रतिशत, सन् २०१४ मा ६० प्रतिशत, सन् २०१६ मा ६६ प्रतिशत र सन् २०१९ मा ७१ प्रतिशतमा नसर्ने रोग देखा परेको छ । जसमध्य ३० प्रतिशतमा मुटु रोग रहेको छ भने जम्मा जनसङ्ख्याको ८ प्रतिशत सवारी दुर्घटनामा परेर मर्ने गरेको तथ्याङ्क छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को आँकडाअनुसार नेपालको कुल मृत्युमध्ये करिब ६६ प्रतिशत मृत्युका कारण नसर्ने रोग भएको पाइएको छ । यसै गरी ३०–७० वर्ष उमेर समूहमा अल्पायुमा नै मृत्युको प्रमुख कारणका रूपमा देखिएको छ  ।

यसैगरी, हिँड्ने गरौँ साँझ र बिहान, नसर्ने रोगको विरुद्ध हाम्रो अभियान भन्ने मूल नाराका साथ जनस्वास्थ्य कार्यालय मकवानपुरले सचेतनामूलक र्‍याली गरेको छ । बिहीबार बिहान जनस्वास्थ्य कार्यालयबाट सुरु भएको र्‍याली हेटौँडाको सानोपोखरा, मनकामना चोक, उद्योग वाणिज्य सङ्घ, सिमाचोक हुँदै पुनः जनस्वास्थ्य कार्यालयमा आएर समापन भएको थियो । 

विश्व स्वास्थ्य सङ्गठनका नसर्ने रोग तथा मानसिक स्वास्थ्य कार्यक्रमका डा.अनुपविक्रम बिसीले नसर्ने रोगको बारेमा सहजीकरण गर्नुभएको थियो । नसर्ने रोगबाट बच्ने उपायहरू अन्तर्गत मेरो ९ प्रतिबद्धता, स्वस्थ जीवनको आवश्यकता भन्ने प्रतिविद्धतामा जनस्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्ण मिजारले हस्ताक्षर गर्नुभएको थियो । 

र्‍यालीमा स्वास्थ्य मन्त्रालय, निर्देशनालय, मदन भण्डारी स्वास्थ्यविज्ञान प्रतिष्ठान, स्थानीय तहका स्वास्थ्य प्रतिनिधि र नागरिक समाजको उपस्थिति थियो । जनस्वास्थ्य कार्यालयले नसर्ने रोग बारे सचेतना फैलाउनका लागि साइकल र्‍याली र निःशुल्क स्वास्थ्य परीक्षणको कार्यक्रम गरेको थियो ।