• १२ असार २०८२, बिहिबार

उत्तर कोरियाले रुसका लागि थप सेना पठाउँदै गरेको सियोलको दाबी

blog

सियोल, असार १२ गते । उत्तर कोरियाले युक्रेनविरुद्धको युद्धमा सघाउन सम्भवतः जुलाई महिनाभित्रै रुसमा थप सैनिक पठाउने दक्षिण कोरियाली सांसदले सियोलको गुप्तचर निकायबाट प्राप्त जानकारीलाई उद्धृत गर्दै बिहीबार बताएका छन् ।

उत्तर कोरियाले रुसको कुस्र्क क्षेत्रको पुनःस्थापनाका लागि सैन्य निर्माणकर्ता र सेपर पठाउने रुसको सुरक्षा परिषद्का प्रमुख सर्गेई शोइगुले प्योङयाङ भ्रमणका क्रममा बताउनुभएको थियो । उहाँको भनाइ एक सातापछि पुष्टि भएको हो । “उत्तर कोरियाले रुसलाई आफ्नो सेना पठाउने र हतियार आपूर्ति गर्ने क्रम जारी राखेको छ र कुस्र्कलाई पुनः कब्जामा लिने मस्कोको प्रयासमा उसको सहयोगले महत्त्वपूर्ण भूमिका खेलेको हामीले देखेका छौं,” दक्षिण कोरियाली सांसद ली सियोङ-क्वेनले गुप्तचर निकायको जानकारीलाई उद्धृत गर्दै सञ्चारकर्मीसँग भन्नुभयो । 

“गत वर्षको अक्टोबरमा ११ हजार सैनिक पठाएपछि रुसले कुस्र्कको पुनर्निर्माणमा सहयोग गर्न चार हजार सैनिक र थप छ हजार निर्माणशक्ति परिचालन गर्ने घोषणा गरिसकेको छ,” लीले भन्नुभयो । राष्ट्रिय गुप्तचर सेवाको आँकलन अनुसार थप तैनाथी ‘जुलाई वा अगष्टको सुरुमा हुन सक्छ’ । “यसको प्रमाण के हो भने शोइगुले अघिल्लो तैनाथीको समयमा पनि लगभग एक महिना अघि प्योङयाङको भ्रमण गर्नुभएको थियो र अहिले पनि त्यो देखिन्छ,” लीले भन्नुभयो । 

तयारी पहिले नै चलिरहेको सङ्केत गर्दै उहाँले भन्नुभयो, “उत्तर कोरियाले रुस पठाउनका लागि लागि कर्मचारीहरू चयन गर्न सुरु गरिरहेको जानकारी छ ।” तीन वर्षभन्दा लामो युक्रेनी आक्रमणका क्रममा उत्तर कोरिया रुसको प्रमुख सहयोगी बनेको छ र कुस्र्कबाट युक्रेनी सेनालाई पछि हटाउन क्रेमलिनलाई सहयोग गर्न हजारौँ सैनिक र कन्टेनरभर हतियार पठाएको छ ।

“उत्तर कोरियाले रुसलाई जहाज र सैन्य विमानबाट वितरण गरिने क्षेप्यास्त्र र लामो दूरीको रकेट प्रणालीसहित अनुमानित करोडौं तोपका गोला उपलब्ध गराएको विश्वास गरिन्छ,” लीले भन्नुभयो ।गतवर्ष रुसी नेता भ्लादिमिर पुटिनको आणविक शक्तिसम्पन्न उत्तर कोरियाको दुर्लभ भ्रमणका क्रममा रुस र उत्तर कोरियाबिच पारस्परिक प्रतिरक्षासम्बन्धी सम्झौतामा हस्ताक्षर भएको थियो ।

दक्षिण कोरियाली गुप्तचर सेवालाई उद्धृत गर्दै लीले भन्नुभयो, “अहिलेसम्म रुसका लागि लडिरहेका करिब ६०० उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन् ।” प्योङयाङले गत अप्रिलमा पहिलो पटक युक्रेनमा रुसको युद्धलाई समर्थन गर्न सेना तैनाथ गरेको पुष्टि गरेको थियो । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमका अनुसार नेता किम जोङ उनले थप सहयोगको योजनाको पुष्टि गर्नुभएको छ तर विस्तृत विवरण भने दिनुभएको छैन । रासस/एएफपी