• १२ असार २०८२, बिहिबार

इजरायल–इरान युद्धविरामपछि इजिप्टले ग्यास आपूर्ति पुनः सुरु गर्ने

blog

इजिप्ट, असार १२ गते । इजरायल र इरानबिचको हालैको द्वन्द्वका कारण भएको अवरोधपछि इजिप्टले शुक्रबारबाट धेरै कारखानाहरूमा प्राकृतिक ग्यास आपूर्ति पुनः सुरु गर्ने प्रधानमन्त्री मोस्तफा मादबोलीले बताउनुभएको छ ।

शुक्रबार बिहानदेखि ग्यास आपूर्तिको अभावका कारण विगतका दिनहरूमा रोकिएका धेरै कारखानामा ग्यास पम्पिङ पुनः सुरु हुने उहाँको भनाइ छ । उत्तरी तटीय शहर न्यु अलामेनमा आयोजित साप्ताहिक मन्त्रिपरिषद् बैठकमा यस्तो बताउनुभएको हो ।

उहाँले इजिप्टको बृहत् आर्थिक र सामाजिक विकास लक्ष्यहरू अनुरूप देशको औद्योगिक क्षेत्रलाई सञ्चालनमा राख्न आवश्यक पर्ने ऊर्जा आपूर्ति सुरक्षित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । द्वन्द्वको समयमा इजिप्टले आपतकालीन योजना सक्रिय गर्‍यो ।

जसमा केही कारखानामा ग्यास कटौती गर्ने र बिजुली उत्पादन कायम राख्न पावर स्टेशनहरूलाई इन्धन तेल र डिजेलमा स्विच गर्ने समावेश थियो । जुन १३ मा इजरायलले इरानी आणविक र रणनीतिक स्थलहरूलाई लक्षित गरी ठुलो मात्रामा हवाई आक्रमण गरेपछि इजरायल–इरान द्वन्द्व सुरु भयो । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल