• १२ असार २०८२, बिहिबार

सरकारले लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने

blog

बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुुहुँदै गृहमन्त्री रमेश लेखक । तस्बिर : न्यूज एजेन्सी नेपाल

काठमाडौँ, असार १२ गते । सरकारले लागुऔषध नियन्त्रणका लागि आगामी आर्थिक वर्षमा लागुऔषध नियन्त्रण विभाग स्थापना गर्ने भएको छ ।

बिहीबार काठमाडौँमा लागुऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्नुुहुँदै गृहमन्त्री रमेश लेखकले यो घोषणा गर्नुभएको हो ।

उहाँले सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको बताउनुभयो । लागुऔषधलाई नियन्त्रण गर्नका लागि सरकारले आगामी आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत छुट्टै विभागको स्थापना गर्ने जानकारी दिनुभयो ।

गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरु बनाएर काम गरिरहेको पनि गृहमन्त्री लेखकको भनाइ छ । उहाँले लागुऔषधको विस्तार धेरै भएको र समाज यसबाट प्रभावित बनिरहेको बताउनुभयो । देशभरमा कारागारमा रहेका कैदीबन्दीमध्ये दोस्रो सबैभन्दा ठुलो सङ्ख्यामा लागुऔषधको दुर्व्यसनी, भण्डारण, ओसारपसार गर्नेहरु रहेको बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘‘सरकारले लागुऔषधको नियन्त्रणलाई उच्च प्राथमिकता दिएको छ । हामी लागुऔषधलाई नियन्त्रण गर्नका लागि तपाईंहरुले भन्नुभए जस्तै छिटै नै छुट्टै विभागको स्थापना गर्नेछौँ । म यो घोषणा गर्दछु । आउने आर्थिक वर्षमा गृह मन्त्रालयअन्तर्गत लागुऔषध नियन्त्रण विभाग स्थापना गरिनेछ । म यो आग्रह गर्न चाहन्छु । गृह मन्त्रालयले लागुऔषध नियन्त्रणका लागि विभिन्न योजनाहरु बनाएर काम गरिरहेको छ ।’’

गृहमन्त्री लेखकले मन्त्रालयमा आफू आइसकेपछि लागुऔषध नियन्त्रणमा धेरै चासो दिएर काम गरिरहेको बताउनुभयो । लागुऔषध आफैँमा एउटा समस्या रहेको र यसले समाजमा अरु समस्या पनि सिर्जना गरिरहेको जानकारी दिनुभयो ।