चन्द्र पन्दाक
ताप्लेजुङ, असार ११ गते । ताप्लेजुङको सदरमुकामस्थित फुङ्लिङ नगरपालिकाका कर्मचारीले ‘पेन डाउन’ गरेका छन् । मङ्गलबार भएको नगरपालिकाको १८ औं नगर अधिवेशनमा नगर प्रवक्ता मोहन न्यौपानेले आफूहरुमाथि अपमानित र अपहेलित व्यवहार गरेको भन्दै कर्मचारीहरुले ‘पेन डाउन’ गरेको बताउनुभयो ।
नरपालिकाका कार्यरत कर्मचारीले विज्ञप्ति प्रकाशित गरी बुधबार २ बजेसम्मका लागि ‘पेन डाउन’ गरेको जनाएका छन् । फुङ्लिङ नगरपालिका –२ का वडाध्यक्षसमेत रहनुभएका प्रवक्ता न्यौपानेले कर्मचारीहरुको अपमान गरिएको बताउनुभयो ।
विज्ञप्तिमा कर्मचारी लक्षित गैर जिम्मेवारीपूर्ण अभिव्यक्ति र कर्मचारीको काम तथा कार्यालयको वातावरणलाई प्रभावित गर्नेखालको उत्तेजक अभिव्यक्ति दिएको भन्दै कर्मचारीले आपत्ति जनाएका छन् । कार्मचारीले सहज गरी काम गर्ने वातावरण बनाउन नगर प्रवक्ता न्यौपानेले नगरपालिकामा आएर गल्ती महसुस गरी माफी माग्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।
प्रवक्ता न्यौपानेले आफूले कर्मचारीलाई अपमान हुने खालको कुनै अभिव्यक्ति नदिएको बताउनुभयो । कुनै कर्मचारीलाई लक्षित गरेर आफूले अभिव्यक्ति नदिएको बताउनुहुँदै न्यौपानेले नगर अधिवेशनमा आफ्नो धारणा मात्र राखेको बताउनुभयो । नगर कार्यपालिका सदस्य भएको हैसियतले अधिवेशनमा आफ्नो कुरा राखेको र आफ्नो अभिव्यक्तिले कर्मचारीलाई असर पुगे आफू सच्याउन तयार रहेको, तर आफूले उठाएको विषयमा भने नगरसभाले जवाफ दिनुपर्ने उहाँको भनाइ छ ।