अस्मिता पोखरेल
धादिङबेसी, असार १२ गते । वर्षा सुरु भएसँगै पृथ्वी राजमार्ग अन्तर्गत पहिरो र भासिने सम्भावना भएका जोखिमयुक्त स्थानहरूको स्थलगत अनुगमन सुरु गरिएको छ ।
अघिल्ला वर्षहरूमा लगातारको वर्षातले पहिरो खसेर वा सडक भासिएर गम्भीर दुर्घटना र धनजनको क्षति भएको थियो । यस वर्ष सावधानीपूर्वक जोखिम न्यूनीकरणको पहलस्वरूप यो अनुगमन अघि बढाइएको हो ।
धादिङ जिल्ला समन्वय समितिको संयोजनमा भएको अनुगमनमा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरे, सुरक्षा निकायका प्रतिनिधिहरू र नागढुङ्गा–मुग्लिन सडक विस्तार आयोजनाका अधिकारीहरूको सहभागी थिए ।
टोलीले सडक विस्तार भइरहेको स्थान, त्यहाँ देखा परेका चुनौतीहरू र सुरक्षाका उपायहरूबारे अवलोकन गर्दै आवश्यक निर्णयहरू पनि लिएको छ ।
सम्भावित पहिरो क्षेत्र तथा जमिन भासिने सम्भावना भएका ठाउँहरूमा मनसुन अवधिभर कुनै पनि प्रकारको सडक विस्तार कार्य नगर्ने सहमति भएको जिल्ला समन्वय समिति धादिङका प्रमुख नवराज अधिकारीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “जहाँ काम भइरहेको छ, त्यहाँ उच्च सतर्कताका साथ सवारी सञ्चालन गर्नु”। विपद् आइपरेको अवस्थामा तत्काल राहत र सहयोग प्रदान गर्न आवश्यक तयारी पूरा गरिएको उहाँले बताउनुभयो ।
पृथ्वी राजमार्गको भौगोलिक स्वरूपअनुसार स्थान-स्थानमा खोल्साहरू, भिरालो जमिन र पहाडी भूभाग रहेका कारण बर्खाको समयमा जोखिम बढेको छ। प्रमुख जिल्ला अधिकारी घिमिरेले जोखिमयुक्त क्षेत्रमा सवारी रोक्न र जोखिम पहिचान भएपछि सवारी सञ्चालन गर्न सरोकारवालालाई निर्देशन दिएका छन् ।
निर्माणाधीन सडकमा रहेका खाल्डाखुल्डीहरु तत्काल पुर्न, नालाहरु बनिरहेको स्थानमा पानी निकासको व्यवस्था मिलाउन विस्तार आयोजनालाई भनिएको छ । सडक सङ्केत चिन्ह थप गर्न भनिएको र समन्वयमा काम गरिरहेको प्रमुख जिल्ला अधिकारी घिमिरेले बताउनुभयो ।
हाल नागढुंगा–नौबिसे खण्ड तथा नौबिसे–मुग्लिन खण्डमा सडक र पुल विस्तारका काम तीव्र रूपमा अघि बढिरहेको छ । तर कमजोर भौगोलिक संरचनाका कारण वर्षातका बेला पकट पटक झरीरहने पहिरो र चट्टान हटाउँदै सवारी सञ्चालन गराउनु चुनौतीपूर्ण रहेको आयोजनाका प्रमुखहरूले बताएका छन् ।
अत्यधिक चापयुक्त राजमार्गमा काम गर्दै सवारी सञ्चालन सुनिश्चित गर्नु कठिन कार्य भएको र यही कारण कामको प्रगति अपेक्षाअनुसार हुन नसकेको उहाँहरुको भनाइ छ ।