• १३ असार २०८२, शुक्रबार

राजश्व छली गर्ने विरुद्ध ७ करोड बिगो माग सहित मुद्दा दायर

blog

विकास अधिकारी

पश्चिम नवलपरासी, असार १२ गते । चिनिलाई चामल भनेर बिक्री  वितरणमा संलग्न पश्चिम नवलपरासीका एक जना सहित चार जना विरुद्ध राजश्व अनुसन्धान कार्यालय बुटवलले मुद्दा दायर गरेको छ । नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ८ मा रहेको नवज्योति ट्रेडर्सले ३ करोड ४७ लाख बराबरको चिनीलाई चामल उल्लेख गरी बिक्रीका लागि विभिन्न ठाउँमा पठाउने गरेको फेला परेपछि सञ्चालक सौरभ यादव विरुद्ध उच्च अदालत तुलसीपुर, बुटवल इजलासमा मुद्दा दायर भएको हो । 

पछिल्लो समय उक्त ट्रेडर्सले सुर्खेतस्थित आगवन स्टोर्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मालाई चामलको बिल बनाइ ११ लाख बढीको चिनी पठाएको अवस्थामा ट्रकसहित पक्राउ परेपछि उक्त अवैध कारोबार बाहिर आएको हो । ट्रक पक्राउ परेपछि थप अनुसन्धानका क्रममा तिन पटक सम्म चामलको बिल बनाएर चिनी पठाउने गरेको खुलेको राजस्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले जानकारी दिनुभयो ।

अनुसन्धानका क्रममा मूल्य अभिवृद्धि करमा दर्ता नभएको र पटक पटक चामलको बिल बनाई अवैध रूपमा भन्सार चोरी पैठारी गरी ल्याइएको भारतीय चिनीको कारोबार गरेको देखिएकाले नवज्योति ट्रेडर्सका सञ्चालक यादवलाई ३ करोड ४७ लाख ६२ हजार बिगो कायम गरी शत प्रतिशत जरिवाना माग गरिएको छ । कुल ६ करोड ९५ लाख २५ हजार जरिवाना सहित कैद सजाय माग गरेर मुद्दा दायर गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले बताउनुभयो । सामान खरिद गर्ने सुर्खेतस्थित आवागवन स्टोर्स एन्ड अर्डर सप्लायर्सका सञ्चालक पुष्पा शर्मा विरुद्ध पनि ११ लाख ७१ हजार बिगो कायम गरी शतप्रतिशत जरिवाना सहित मुद्दा दायर गरेको हो ।

त्यस्तै अवैध सामान खरिद गर्ने फर्मलाई प्रत्यक्ष सघाएको अभियोगमा हिक्मतप्रसाद आचार्य विरुद्ध पनि पुष्पालाई हुने सजायको आधा सजाय माग गरिएको प्रमुख अनुसन्धान अधिकृत घिमिरेले बताउनुभयो । ट्रक चालक विनोद थापा भने ५० हजार धरौटीमा छुटेका छन् । भारतबाट नवलपरासीको सीमावर्ती क्षेत्र हुँदै चिनीको तस्करी हुने गरेको छ । तस्करी भएको चिनी विभिन्न गोदाममा भण्डार गरेर बिल भरपाई मिलाइ तस्करी हुँदै आएको स्थानीयको भनाइ छ ।