• १६ असार २०८२, सोमबार

कञ्चनपुरमा भारी वर्षा, उच्च सतर्कता अपनाउन आग्रह

blog

कञ्चनपुरसहित सुदूरपश्चिमका तीन जिल्लामा भारी वर्षा ।

भवानीदत्त भट्ट

कञ्चनपुर, असार १६ गते । कञ्चनपुरसहित सुदूरपश्चिमका तीन जिल्लामा भारी वर्षा भइरहेको छ । आइतबार रातिदेखि कञ्चनपुर, कैलाली र डडेल्धुरामा लगातार भारी वर्षा भइरहेको हो । 

भारी वर्षाको कारण कञ्चनपुर, कैलालीका बाढी जोखिम क्षेत्रमा उच्च सर्तकता अपनाउन महाकाली बेसिन कार्यालय अत्तरियाले आग्रह गरेको छ । कञ्चनपुरको बेलौरीमा २४९ मिलिमिटर वर्षा मापन गरिएको छ ।

अहिले कञ्चनपुरको पुनर्वास, बेलौरी र कृष्णपुर, कैलालीको दोगावरी, धनगढी र डडेल्धुरामा भारी वर्षा भइरहेको महाकाली बेसिन कार्यालयका प्रमुख संजयकुमार शाहले बताउनुभयो । उहाँका अनुसार पछिल्लो १२ घण्टा यता बेलौरीमा २ सय ४९ मिलिमिटर वर्षा मापन गरिएको छ । भारी वर्षाको कारणले बेलौरीको कलकत्ता, शिवनगर, खल्ला कुण्डा, शान्तीपुर लगायतका क्षेत्रमा डुबानको जोखिम छ । 

भारी वर्षा भइरहेकाले सतर्कता अपनाउन महाकाली बेसिन कार्यालय अत्तरियाले आग्रह गरेको छ । वर्षापछिको बाढीको कारण महाकाली नदी र मोहना नदीले सतह सतर्कता तह पार गरेकाले तल्लो तटीय क्षेत्रमा बस्ने स्थानीयहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । अत्यधिक वर्षाका कारण होचा स्थानमा बनेका घरहरुमा डुबानको जोखिम बढेको छ । 

सोमबार साँझसम्म भारी वर्षा हुने अनुमान गरिएको महाकाली बेसिन कार्यालयका प्रमुख शाहले बताउनुभयो । उहाले भन्नुभयो,–“आज बेलुकासम्म भारी वर्षा हुने भएकाले तल्लो तटीय क्षेत्रमा बस्ने बासिन्दाहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरिन्छ ।”