• २१ पुस २०८१, आइतबार

भेनियर पातामा निकासी कर कम गर्न माग

blog

झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सङ्घका अध्यक्ष पाण्डे । तस्बिर : विष्णुप्रसाद पोखरेल

बिष्णुप्रसाद पोखरेल
दमक, चैत ७ गते । 
ठुलो परिमाणमा भारतमा निकासी हुने गरेको भेनियर पातामा सरकारले प्रोत्साहन गर्नु पर्नेमा निकासी कर अत्यधिक राखेको भन्दै यसलाई घटाउन व्यवसायीले माग गरेका छन् । नेपालका भेनियर उद्योगहरूलाई भेनियर पाता निकासीमा थप सहुलियतसहित प्रोत्साहित गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित सरोकारवाला सम्बन्धित पक्षहरूसँग नेपाल भेनियर उत्पादक सङ्घ केन्द्रीय समितिले माग गरेको छ ।

नेपालको पहाडी जिल्लाका अन्नबाली उत्पादन नहुने निजी आबादी जग्गाबाट सङ्कलन हुने उत्तिस, मलातो, मौवा, कदम, पिठारीलगायतका तीन महिनामै सडेर जाने कमसल प्रजातिको काठलाई कच्चा पदार्थको रूपमा उपयोग गरेर नेपालका भेनियर उद्योगहरूले भेनियर पाता उत्पादन गर्दै आएको बताइएको छ ।

भेनियर उद्योगबाट उत्पादित कोर भेनियर (भेनियर पाता) प्लाइउड उद्योगहरूले प्लाई सिट बनाउनका लागि कच्चा पदार्थको रूपमा उपयोग गर्ने गरेको नेपाल भेनियर उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष दीपक पाण्डेले बताउनु भयो । प्रतिकेजी ६ रुपियाँ कर लगाइएको बताउनुहुँदै यो घटाउन उहाँले माग गर्नुभयो ।

उहाँका अनुसार हाल नेपालका अधिकांश प्लाइउड उद्योगले आफ्नै कम्पाउन्डभित्र दुईदेखि चार वटासम्म भेनियर मेसिनरी जडान गरी आफूलाई आवश्यक पर्ने ८० प्रतिशत भेनियर पाता आफैँ उत्पादन गर्दै आएका छन् । भेनियर पाताको भारत निकासी दररेट प्रति केजी ६ रुपियाँ सरकारले तोकेको र यसलाई घटाएर तीन रुपियाँ कायम गर्न माग गरिएको छ ।

‘‘करिब २० प्रतिशत भेनियर पाता मात्र भेनियर उद्योगबाट खरिद गर्ने गरेको अवस्था रहेको छ । स्वदेशका प्लाइउड उद्योगहरूमा खपत हुन नसक्ने ८० प्रतिशत भेनियर पाता भेनियर उद्योगहरूले भारत निकासी गर्नु परिरहेको छ,’’ पाण्डेले भन्नुभयो । भारतमा भेनियर पाता निकासी हुँदा कृषकहरूले आफ्नो उत्पादनको उचित लाभ पाएर जीवनस्तर वृद्धि गरिरहेको उहाँको दाबी छ ।

पाण्डेका अनुसार नेपालमा हाल १५० वटा भेनियर उद्योग सञ्चालनमा रहेका छन् । यसमा करिब ८० हजारले रोजगारी पाएका छन् । नेपालको भेनियर पाता निकासी हुँदा दैनिक दुई करोड रुपियाँभन्दा बढी वैदेशिक मुद्रा आर्जन गरिरहेको र यसबाट ४५ लाख रुपियाँसम्म राजस्व प्राप्त गरेको उहाँले जनाउनु भयो ।

नेपालभित्र ठुलो मात्रामा रोजगारीको अवसर सिर्जना गर्ने, कृषि उपज निकासी गरेर किसानहरूको आर्थिकस्तर वृद्धि गर्ने, वैदेशिक मुद्रा भित्राउने र राजस्व बढाउन योगदान दिने भेनियर उद्योगहरूलाई टिकाउनका लागि अहिले लगाउँदै आएको निकासी दररेटलाई घटाउन माग गरेका हौ, पाण्डेले भन्नुभयो ।

स्वदेशका प्लाइउड उद्योगहरूमा खपत हुन नसक्ने भएकाले भेनियर पाताको भारतमा मात्र नभएर तेस्रो मुलुकसम्मै निकासी हुने वातावरण निर्माणका लागि पहल गर्न सङ्घले माग गरेको छ । झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलामार्फत प्रधानमन्त्रीसहित उद्योग वन तथा वातावरण मन्त्रालय, मुख्य मन्त्रीको कार्यालय कोशी प्रदेश, अर्थ मन्त्रालय लगायतको ध्यानाकर्षण गराएको पाण्डेले जानकारी दिनुभयो ।