काठमाडौँ, चैत ९ गते । पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लि.का बचतकर्ताले रकम फिर्ताको व्यवस्था मिलाइदिन माग गर्दै प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा निवेदन दिएका छन् ।
करिब दुई वर्षको अवधिदेखि बचतकर्ताले रकम फिर्ता पाउन नसकेको भन्दै पीडित सङ्घर्ष समितिले समितिमा निवेदन दिएको हो । समितिका तर्फबाट सभापति रामहरि खतिवडालाई बिहीबार निवेदन हस्तान्तरण भएको हो ।
एक अर्ब ४० करोड रुपियाँभन्दा बढी निक्षेप सङ्कलन भएको संस्थाका सञ्चालक लामो समयदेखि फरार रहेको र राज्यका जिम्मेवारीप्राप्त व्यक्ति र निकायले चासो नदिएको भन्दै बचत फिर्ताको पहलका लागि निवेदन दर्ता गरिएको हो । दुई वर्षदेखि बचतकर्ताले रकम पाउन नसकेको दाबी निवेदनमा गरिएको छ । बचत फिर्ताका लागि एक वर्षदेखि समन्वय गरे पनि रकम पाउन नसकेको निवेदनमा उल्लेख छ ।
गितेन्द्रबाबु (जिबी)राई समूहले विभिन्न कम्पनीमा सहकारीको रकम अवैध तरिकाबाट लगानी गरेको निवदेनमा दाबी गरिएको छ । मिडिया, नेटवर्किङ कम्पनीमा लगानी गरेको दाबी पीडितहरूको छ । त्यस्ता कम्पनीमा आबद्ध र जिम्मेवारीमा रहेका व्यक्तिले समेत बचतकर्ताको रकम फिर्ताबारे कुनै ठोस पहल नगरेको निवेदनमा उल्लेख छ ।
समिति सभापति खतिवडाले सहकारीको समस्या समाधानका लागि राज्य जिम्मेवारी हुनुपर्ने बताउनुभयो । पीडितका निवेदनलाई सर्वपक्षीय परामर्शका आधारमा अगाडि बढाउने जानकारी दिँदै बताउँदै उहाँले भन्नुभयो, “हामीलाई निवेदन प्राप्त भएको छ । यस विषयमा सबैसँग सल्लाह गरेर छलफलको प्रक्रिया अगाडि बढ्छ ।”
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिमा उक्त विषयको क्षेत्राधिकार भए पनि राज्य व्यवस्थामा उक्त निवेदन दर्ता भएको छ । निवेदकले सुशासनको विषयलाई उठाएर राज्य व्यवस्थामा निवेदन दर्ता गरेका हुन् ।
सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा यसअघि नै जिल्ला अदालत कास्कीमा समेत मुद्दा विचाराधीन छ । प्रहरीले गत भदौ र असोजमा दुई चरणमा १९ जनाविरुद्ध सहकारी ठगीमा मुद्दा दर्ता गरेको थियो । पूर्वअध्यक्ष जिबी राईलगायत भने उक्त मुद्दामा फरार छन् ।
राईसमेतको लगानीमा स्थापित ग्यालेक्सी टिभीमा वर्तमान उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने पनि साझेदार बनेको विषय अहिले विवादित पनि छ ।
लामिछाने गोरखा मिडिया (ग्यालेक्सी) को प्रबन्ध निर्देशक रहँदा सहकारीबाट रकम ट्रान्सफर भएका विवरण सार्वजनिक भएका छन् । जसमा लामिछानेको नामसमेत जोडिएको छ । समितिमा पेस भएका उजुरीमा ग्यालेक्सीमा करोडौँ लगानी भएको उल्लेख छ ।