• ९ असार २०८१, आइतबार

सिक्टा सिँचाइले लिफ्टिङ सिँचाइ योजना पनि सञ्चालन गर्ने

blog

नेपालगन्ज समाचारदाता

नेपालगन्ज, चैत ९ गते । सिक्टा सिँचाइ आयोजनाले बाँकेका केही ठाउँमा लिफ्टिङ सिँचाइको योजना पनि सञ्चालन गर्ने भएको छ ।  सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी तथा डिभिजनल इन्जिनियर सन्देश पौडेलले बाँकेको राप्तीसोनारी गाउँपालिका–८, बालापुर र वडा नम्बर ९ को ढकेरी तथा वडा नम्बर २ कचनापुर क्षेत्रमा परीक्षण परियोजनाका रूपमा विद्युत्बाट सञ्चालन हुने लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने बताउनुभयो । 

उहाँले लिफ्टिङ सिँचाइका लागि ढकेरी र बालापुरमा निर्माण कम्पनीसँग ठेक्का सम्झौता भई काम सुरु हुने चरणमा रहेको र कचनापुरमा केही समयपछि ठेक्का हुने बताउनुभयो । 

उहाँले सिक्टा सिँचाइ आयोजनाको नहरबाट सिँचाइ हुन नसकेका क्षेत्रमा किसानलाई लिफ्टिङ प्रविधिबाट नहरको पानी तानेर सिँचाइको सुविधा पु¥याउने लक्ष्य रहेको बताउनुभयो ।  नहरको नजिकै भए पनि अग्लो जग्गा भएकाले राप्तीसोनारी–२, ८ र ९ का खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पुग्न सकेको छैन । 

राप्तीसोनारी–९ का वडाध्यक्ष सोहनलाल थारूले सिँचाइ पुग्न नसकेको स्थानका लागि लिफ्टिङ सिँचाइको व्यवस्था हुन थालेको सुनेर किसानहरू अति नै खुसी भएको बताउनुभयो । 

लिफ्टिङ सिँचाइको योजना कार्यान्वयनका लागि राप्तीसोनारी–९ मा स्थानीय रामबहादुर भण्डारीको अध्यक्षतामा ढकेरी लिफ्ट जल उपभोक्ता संस्थासमेत स्थापना गरिएको छ । लिफ्टिङ सिँचाइ योजनाका लागि सिक्टा सिँचाइ आयोजनामा चालु आर्थिक वर्षमा चार करोड रुपियाँ विनियोजन गरिएको आयोजनाले जनाएको छ ।