पशुलाई आठ घण्टाभन्दा बढी हिँडाए जरिबाना
पशु सेवा विभागलगायत अन्य सरोकारवालाले विभिन्न कार्यक्रम गरी बुधबार विश्व पशु दिवस मनाएका छन् । सन् १९२९ देखि प्रत्येक अक्टुबर ४ का दिन यो दिवस मनाउन सुरु गरिएको हो । पशुको कल्याण र यसको संरक्षण गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको छ । पशु कल्याणका लागि विभागले विभिन्न निर्देशन तथा मापदण्ड बनाएको छ ।
टिङ्करमा टेलिकमको सेवा
नेपाल टेलिकमले नेपालको उत्तरपश्चिमको अन्तिम बस्ती टिङ्करमा मोबाइल सेवा सञ्चालनमा ल्याएको छ । टेलिकमले मङ्गलबारदेखि सेवा सञ्चालनमा ल्याएको हो । मोबाइल सेवा सञ्चालनमा आएपछि सो क्षेत्रका जनताले सहज रूपमा आफ्नै मोबाइलमार्फत फोन गर्न सक्ने भएका छन् ।
रसुवा बन्दरगाहको निर्माण पचास प्रतिशत सम्पन्न
रसुवाको रसुवागढीमा निर्माणाधीन सुक्खा बन्दरगाह (ड्राई पोर्ट) को निर्माण कार्य ५० प्रतिशत सम्पन्न भएको छ । चीन सरकारको सहयोगमा उत्तरी नाका रसुवागढीमा नेपाल इन्टरमोडल यातायात विकास समितिको व्यवस्थापनमा बन्दरगाह निर्माणको काम भइरहेको छ । दुई देशको आयात निर्यात सहज गर्ने उद्देश्यसहित बन्दरगाह निर्माण गरिएको हो ।
दसैँको मुखमा खाद्यान्नको मूल्य वृद्धि
दसैँको मुखमा अत्यावश्यकीय खाद्यान्न चामल, दाल, चिउरा, आँटा, गेडागुडीलगायतका उपभोग्य वस्तुको भाउ महँगिएको छ । आर्थिक मन्दीले थलिएका उपभोक्ता अस्वाभाविक मूल्य वृद्धिले झनै आक्रान्त बनेका छन् । पछिल्लो एक वर्षको बिचमा दैनिक उपभोग्य वस्तुमा ५० प्रतिशतसम्मले मूल्य वृद्धि भएको पाइएको छ । यसबिचमा महँगो नभएको कुनै वस्तु नै छैन । चामल, दाल, गेडागुडी, आँटा, चिउरा, चिनी सबै महँगिएको छ । चिनीमा त पछिल्लो पटक कालो बजारी नै भएको छ ।
सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न सरकार तयार : मन्त्री रिजाल
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले नेपालको सुपारी भारत निकासी गर्न आवश्यक पहल गर्न तयार रहेको बताउनुभएको छ । बुधबार प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा बोल्नुहुँदै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।
दुई सातामा सुनको मूल्य छ हजार घट्यो
बजारमा दुई साताको अवधिमा सुनको मूल्य तोलामा छ हजार चार सय रुपियाँले घटेको छ । अन्तर्राष्ट्रिय बजारमा पछिल्लो समय सुनको मूल्य घट्दै गएपछि त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार गत असोज २ गते प्रतितोला सुनको मूल्य एक लाख १३ हजार रुपियाँमा रहेकामा मङ्गलबार घटेर एक लाख छ हजार छ सय रुपियाँमा कारोबार भएको छ । असोज महिनादेखि स्थानीय बजारमा लगातार सुनको मूल्य घट्दै गएको छ । महासङ्घका अध्यक्ष माणिकरत्न शाक्यले अमेरिकी फिडरल बैङ्कले ब्याजदर बढाएपछि डलर मजबुत हुँदा सुनको मूल्य घट्दै गएको जानकारी दिनुभयो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा स्थानीय बजारमा समेत मूल्य घट्दै गएको उहाँको भनाइ छ ।
सामाजिक सुरक्षा कोषको योगदानमा श्रमिकको गुनासो
सामाजिक सुरक्षा कोषमा योगदान गर्नुपर्ने ३१ प्रतिशत रकम सबै श्रमिकको तलबबाट काट्ने व्रmम बढेको पाइएको छ । सामाजिक सुरक्षा ऐन २०७४ अनुसार योगदानकर्ताको न्यूनतम आधारभूत पारिश्रमिकबाट ११ प्रतिशत र रोजगारदाताबाट २० प्रतिशत गरी ३१ प्रतिशत रकम मासिक रूपमा कोषमा जम्मा गर्नुपर्ने भए पनि पछिल्लो समय केही रोजगारदाताले ३१ प्रतिशत रकम नै श्रमिकको तलबबाट कटाएर पठाउने गरेको पाइएको हो ।
पचास करोडसम्मको विदेशी लगानी स्वचालित मार्गबाट
सरकारले मुलुकमा ५० करोड रुपियाँसम्मको विदेशी लगानी स्वचालित मार्ग (अटोमेटिक रुट) गर्न सक्ने व्यवस्था गरेको छ । सरकारले विदेशी लगानी तथा प्रविधि हस्तान्तरण ऐन २०७५ ले दिएको अधिकार प्रयोग गरी स्वचालित मार्गबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी नेपालमा ल्याएर उद्योग व्यवसायमा गर्न सक्ने व्यवस्था गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गरी अटोमेटिक रुटबाट ५० करोड रुपियाँसम्म विदेशी लगानी ल्याउन सक्ने व्यवस्था गरेको हो ।
ऊर्जा विकास मार्गचित्र तयार
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ‘ऊर्जा विकास मार्गचित्र तथा कार्ययोजना– २०८०’ मार्गचित्र कार्यान्वयनको तयारीमा जुट्न मातहतका निकायलाई निर्देशन गरेको छ । मन्त्रालयले कार्ययोजना तयार गरे पनि मन्त्रीपरिषद्बाट स्वीकृत भने भइसकेको छैन । मङ्गलबार ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्रालय र मातहतका निकायका प्रमुख तथा पदाधिकारीसँगको छलफलमा मन्त्री बस्नेतले आगामी १२ वर्षका लागि तयार पारिएको कार्ययोजनालाई वस्तुगत र व्यावहारिक रूपमा कार्यान्वयन गर्ने गरी तयारी गर्न निर्देशन दिनुभएको हो ।