• १२ साउन २०८१, शनिबार

चार महिनामा ८६ लाख राजस्व असुली

blog

चेकजाँच गर्दै ट्राफिक प्रहरी । तस्बिरः शिवशङ्कर मिश्र

शिवशङ्कर मिश्र
बारा, मङ्सिर १९ गते । 
चालु आर्थिक वर्ष ०८०/०८१ को चार महिनामा विभिन्न सवारीसाधनले नियम उल्लङ्घन गरेको बापत ८६ लाख २२ हजार पाँच सय रुपियाँ राजस्व असुली भएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढ बाराले चालु आर्थिक वर्षको साउन महिनादेखि कात्तिक मसान्तसम्म ११ हजार एक सय ३५ वटा विभिन्न साना ठुला सवारीसाधनका चालकहरूलाई दण्ड जरिवाना गरेको हो ।

दण्ड जरिवाना हुनेमा सबैभन्दा बढी चार हजार ६ सय ८२ मोटरसाइकल, तीन हजार एक सय ४४ ट्रक, दुई हजार दुई सय ११ कार, जिप, भ्यान, ६२५ ट्र्याक्टर, दुई सय ८३ ट्याम्पो र एक सय ९० बस रहेका जिल्ला ट्राफिक प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक रामकुमार महतोले जानकारी दिनुभयो ।

यसैगरी, सोही अवधिमा विभिन्न ४४१ वटा सवारीसाधन दुर्घटना हुँदा २९ जनाको मृत्यु भएको छ । त्यसमध्ये २१ जना पुरुष, ६ जना महिला र एक–एक जना बालबालिका छन् । ती दुर्घटनाबाट ४१ जना गम्भीर र पाँच सय १६ जना सामान्य घाइते भएका छन् ।

गत आर्थिक वर्ष ०७९/०८० मा विभिन्न ३९ हजार २३१ वटा सवारीसाधनले नियम उल्लङ्घन गरेको बापत तीन करोड दुई लाख २३ हजार पाँच सय रुपियाँ राजस्व असुली भएको कार्यालयका प्राविधिक प्रहरी हवल्दार राकेश सिंहले बताउनुभयो ।

यसैगरी, सोही अवधिमा विभिन्न एक हजार ३७३ वटा सवारीसाधन दुर्घटना हुँदा ९८ जनाको मृत्यु भएको थियो । त्यसमध्ये ६७ जना पुरुष, २२ जना महिला र नौ जना बालबालिका थिए । सोही घटनामा ११९ जना गम्भीर र एक हजार ४९१ जना सामान्य घाइते भएका थिए ।