• ११ मंसिर २०८१, मङ्गलबार

मर्स्याङ्दी जलविद्युत केन्द्रको उत्पादन १६ मेगावाट घट्यो

blog

मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन गृह । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, पुस २ गते ।
तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रको विद्युत उत्पादन घट्न थालेको छ । सुख्यायामसँगै नदीमा पानी कम भएकाले उत्पादनमा १६ मेगावाट घटेको केन्द्रले जनाएको छ ।

सुख्यायाम भएकाले नदीमा मिसिने खोला, झरना, खोल्सीको पानी घटेको तथा कतिपय सुकेकाले उत्पादन घटेको केन्द्र प्रमुख पशुपती गौतमले जानकारी दिनुभयो । हाल सुख्या मौसम भएकाले वर्षा नहुँदा यस नदीमा मिसिने स्रोतमा पानीको बहाव कम भएपछि उत्पादन घटेको गौतमले बताउनुभयो ।

६९ मेगावाट क्षमताको केन्द्रले हाल ५३ मेगावाट मात्रै उत्पादन हुने गरेको गौतमले जानकारी दिनुभयो । जेठ लागेपछि हिउँ धेरै पग्लने र वर्षा बढी हुने भएकाले उत्पादन बढ्दै जान्छ  ।

सुख्खा मौसममा विद्युत उत्पादन कम हुँदा प्राधिकरणले भारतबाट विद्युत आयात गर्नुपर्ने बाध्यता हुन्छ । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी हो । चिसो मौसममा तापक्रम घट्दै जाँदा हिउँ कम पग्लिने र वर्षा नहुँदा यसका सहायक नदी, खोला, खोल्सी, झरनामा पानीको बहाव घढेसँगै विद्युत उत्पादन पनि घट्ने गरेको केन्द्रले जनाएको छ । यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौंको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।