अमेरिका, असार २० गते । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार आफ्नो रुसी समकक्षी भ्लादिमिर पुटिनसँग इरान र युक्रेन द्वन्द्वको बारेमा कुनै प्रगति नभएको बताउनुभएको छ । टेलिफोन संवादका क्रममा उहाँले यस्तो बताउनुभएको हो ।
पुटिनसँग आफूले लामो समयसम्म कुरा गरेको र वार्ताका क्रममा इरानसहित युक्रेनको बारेमा पनि चर्चा गरेको उहाँले बताउनुभयो । रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभका अनुसार लगभग एक घण्टा चलेको फोन वार्तामा पुटिनले मस्कोले युक्रेनसँगको द्वन्द्वमा आफ्नो लक्ष्यहरू प्राप्त गर्ने बताउनुभएको छ ।
पुटिनका सहयोगीले युक्रेनसँगको तेस्रो चरणको वार्ताका लागि रूस तयार रहेको बताउनुभयो । पुटिन र ट्रम्पले रूस र संयुक्त राज्य अमेरिकाबिच ऊर्जा र अन्तरिक्षसहित आर्थिक परियोजनाहरूको शृङ्खला कार्यान्वयन गर्न आफ्नो पारस्परिक चासो देखाएका छन् । सिन्ह्वा/न्यूज एजेन्सी नेपाल