सिन्धुपाल्चोक समाचारदाता
सिन्धुपाल्चोक, साउन १५ गते । चौध वर्षसम्म काभे्रपलाञ्चोकको धुलिखेल नगरपालिका–७ स्थित सिद्धार्थ बालगृहमा परिचयविहीन अवस्थामा अध्ययन गर्दै आएकी २० वर्षीय स्वस्तिका केसीले बल्ल नेपाली नागरिकता प्रमाणपत्र र बुवाआमा पाउनुभएको छ ।
बुवा विष्णुराज केसीले १४ वर्षअघि धुलिखेलमा छोरी स्वस्तिकालाई बिच बाटोमै छोडेर फरार हुनुभएको थियो । आमा मञ्जु केसीले त्यसबेला छोरी स्वस्तिकालाई बुवाको जिम्मा लगाएर घर छोडेर हिँड्नुभएको थियो । धुलिखेलको सडकमा अलपत्र अवस्थामा फेला परेकी छ वर्षीय स्वस्तिकालाई धुलिखेलकी राधा माकजूले एक वर्ष आफ्नो साथमा राखेर धुलिखेल इङ्ग्लिस बोर्डिङ स्कुलमा पढाउनुभएको थियो । माकजू स्थायी बसोबास नै गर्ने गरी अमेरिका जानुपर्ने भएपछि उहाँले धुलिखेलमा रहेको सिद्धार्थ बालगृहमा स्वस्तिकालाई पढाउन र हेरचाहसहितको आवासीय व्यवस्था मिलाउनुभएको थियो ।
शर्मिला श्रेष्ठले सञ्चालन गरेको सिद्धार्थ बालगृहमा बसेर स्वस्तिकाले सोही स्थानको सञ्जीवनी नमुना माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण गर्नुभयो । कक्षा १२ सम्मको पढाइ बनेपास्थित आदर्श माविबाट पूरा गर्नुभयो ।
शर्मिलाले स्वस्तिकाका बुवाआमाको पहिचानका लागि सामाजिक अभियन्ता अर्जुन भुसाललाई गुहार्नुभएको थियो । भुसालले सामाजिक सञ्जालमार्फत स्वस्तिकाबारे भिडियो सामग्री प्रसारण गरेपछि स्वस्तिकाकी आमा मञ्जु सम्पर्कमा आउनुभएको थियो । केही दिनपछि बुवा विष्णुराज पनि सम्पर्कमा आउनुभयो । त्यसपछि १४ वर्षअघि छोडेर फरार रहेका अभिभावक भेटिएपछि स्वस्तिकाले वंशजका आधारमा नेपाली नागरिकता पाउनुभएको हो ।
स्वस्तिकाका बुवा विष्णुराज, सिद्धार्थ बालगृहकी सञ्चालक शर्मिला श्रेष्ठ, अभियन्ता भुसाल, राधा माकजूका छोरा सुवास माकजूलगायत स्वस्तिकाको गृहगाउँ सिन्धुपाल्चोकको चौतारा साँगचोकगढी नगरपालिका–१०, खत्रीथोक पुगेर नागरिकताका लागि वडाध्यक्ष नीलबहादुर तामाङ र वडा सचिव पुनम भण्डारीसँग भेट गर्नुभएको थियो । वडाध्यक्ष तामाङले सार्वजनिक वडा मुचुल्का गरेर नागरिकताका लागि जिल्ला प्रशासन कार्यालय चौतारा पठाउनुभएको थियो ।
प्रजिअ किरण थापा, सहायक प्रजिअ गणेश नेपालीले स्वस्तिकालाई वंशजका आधारमा साउन १३ गते मङ्गलबार नेपाली नागरिकता प्रदान गर्नुभएको हो । स्वस्तिकालाई नागरिकता दिलाउन जिप्रकाले जिल्ला समन्वय समितिका उपप्रमुख पदम नेपाललगायतको रोहवरमा प्रदान गरेको थियो । बुवाआमाले सानोमा छाडे पनि अहिले भेट भएर नागरिकता दिलाउनुभएकोमा खुसी लागेको भन्दै स्वस्तिकाले खुसी व्यक्त गर्नुभयो ।